पाकिस्तानको सेमिफाइनल यात्रा लगभग तय

काठमाडौं (एजेन्सी) । जारी आइसीसी टि–२० क्रिकेट विश्वकपमा लगातार तेस्रो जित निकाल्दै पाकिस्तानले सेमिफाइनल यात्रा लगभग तय गरेको छ । शुक्रबार राती दुबईमा सम्पन्न खेलमा अफगानिस्तानलाई ५ विकेटको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले जितको ह्याट्रिकसहित सेमिफाइनल यात्रा पनि लगभग सुनिश्चित गरेको हो ।

खेलमा टस जित्दै पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रनको योगफल तयार पारेको थियो । अफगानिस्तानका लागि गुलबदिन नैबले सर्वाधिक नटआउट ३५ रन बनाए । कप्तान मोहम्मद नाबीले पनि ३५ रनको योगदान दिए ।

जवाफी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेट गुमाएर १४८ रन बनाउँदै जित निकालेको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय पारी खेले । फखर जमनले ३० रन बनाए भने असिफ अलीले नटआउट २५ रन जोडे । अलीले एकै ओभरमा ४ छक्का प्रहार गर्दै सो रन बटुलेका थिए ।

खेलमा पाकिस्तानका असिफ अली नै म्यान अफ द म्याच चुनिए । यो जितसँगै सुपर १२ को समूह २ मा अपराजित पाकिस्तानको ३ खेलबाट ६ भएको छ । अफगानिस्तान र नामिबियाको पनि समान २–२ अंक छ भने न्युजिल्याण्ड, भारत र स्कटल्याण्ड अंकविहीन छन् ।

पाकिस्तानले आफ्नो आगामी खेल २ नोभेम्बरका दिन नामिबियासँग खेल्नेछ भने अफगानिस्तानले पनि ३१ अक्टुबरका दिन नामिबियासँगै खेल्ने कार्यक्रम छ ,


प्रतिक्रिया दिनुहोस

Loading...