क्रिकेट विश्वकपः अष्ट्रेलियाको लय जारी

काठमाडौं (एजेन्सी) । टि–२० क्रिकेट विश्वकपमा दावेदार मध्ये एक अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ । सुपर १२ तर्फ समूह १ मा रहेको अष्ट्रेलियाले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो भने बिहीबार राती श्रीलंकामाथि ७ विकेटको जित निकाल्यो ।

दुबईमा सम्पन्न खेलमा टस जित्दै पहिले फिल्डिङ रोजेको अष्ट्रेलियाले श्रीलंकालाई निर्धारित २० ओभरमा १५४ रन मात्र बनाउन दियो । श्रीलंकाका लागि कुशल परेरारले सर्वाधिक ३५ रन बनाए । अष्ट्रेलियाका लागि प्लेयर अफ द म्याच समेत घोषित एडम जम्पाले किफायती बलिङ गर्दै ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।

जवाफी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर १५५ रन बनाउँदै जित हात पारेको थियो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले सर्वाधिक ६५ रन बनाए भने अर्का ओपनर तथा कप्तान आरोन फिन्चले ३७ रनको योगदान दिए ।

यो जितपछि अष्ट्रेलियाको पनि २ खेलबाट ४ अंक भएको छ । इङल्याण्डको पनि ४ अंक छ । त्यस्तै दक्षिण अफ्रिका र श्रीलंकाको समान २–२ अंक छ भने बंगलादेश र वेस्ट इण्डिज अंकविहीन छन् ।

बिहीबारको जितले अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना पनि बलियो भएको छ । सुपर १२ मा रहेको कुल १२ टोलीहरुलाई २ समुहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...