सेमिफाइनलमा नजिक पाकिस्तान

काठमाडौं (एजेन्सी) । लगातार दोस्रो जित हात पादेृ पाकिस्तान जारी आइसीसी टि–२० क्रिकेट विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । सुपर १२ तर्फ समूह २ मा रहेको पाकिस्तानले मंगलबार राती आफ्नो दोस्रो खेलमा न्युजिल्याण्डलाई ५ विकेटले हरायोे ।

शारजहाँमा टस जित्दै पहिले फिल्डिङ रोजेको पाकिस्तानले न्युजिल्याण्डलाई निर्धारित २० ओभरमा ८ विकेट लिएर १३४ रन मात्र बनाउन दियो । न्युजिल्याण्डका लागि डेरिल मिचेलले मात्र सर्वाधिक २७ रन बनाए । कसिलो बलिङ गरेको पाकिस्तानका लागि हरिस रौफले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच समेत चुनिए ।

जवाफी लक्ष्य पछ्याएको पाकिस्तानले १८.४ ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाउँदै जित हात पार्यो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३४ बलमा ३३ रन बटुले ।

यो जितसँगै २ खेलबाट ४ अंक बटुलेको पाकिस्तान शिर्ष स्थानमा छ र सेमिफायनल नजिक पुगेको छ । पाकिस्तानले अब अफगानिस्तान, नामिबिया र स्कटल्याण्डसँग मात्र खेल्न बाँकी छ ।

न्युजिल्याण्डसँगको त्यो बदला

मंगलबार न्युजिल्याण्डलाई हराएर पाकिस्तानले एक किसिमको बदला पनि लिएको छ । स्मरणीय छ, न्युजिल्याण्डले हालै सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण अन्तिम समयमा आएर रद्द गरेको थियो ।

न्युजिल्याण्डको यो निर्णयप्रति धेरैले आलोचना पनि गरेका थिए । पाकिस्तान पनि न्युजिल्याण्डसँग रुष्ट बनेको थियो । यद्यपि पाकिस्तानी टोलीले न्युजिल्याण्डको त्यसको जवाफ क्रिकेट मेदानमा दिएर मिठो जवाफ दिएसँगै बदला पनि लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...