फेरि हार्यो वेस्ट इण्डिज

काठमाडौं (एजेन्सी) । जारी आइसीसी टि–२० क्रिकेट विश्वकपमा खराब लयमा देखिएको पूर्व विजेता वेस्ट इण्डिजले लगातार दोस्रो हार बेहोरेको छ । सुपर १२ तर्फ समूह १ मा रहेको वेस्ट इण्डिजले मंगलबार दक्षिण अफ्रिकासँग ८ विकेटको हार बेहोर्यो । यसअघि क्यारिबियन टोलीले पहिलो खेलमा इङल्याण्डसँग ६ विकेटको हार बेहोरेको थियो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हार्दै पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सकेको थियो । वेस्ट इण्डिजका लागि ओपनर एविन लेविसले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले ।

उता जवाफी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८.२ ओभर खेल्दै मात्र दुई विकेटको क्षतिमा १४४ रन बनाएर जित हात पारेको थियो । दक्षिण अफ्रिकाका लागि एडम मारक्रमले सर्वाधिक ५१ रनको नटआउट पारी खेले । त्यस्तै रसी भान डेर डुसेनले नटआउट ४३ रन बनाउँदा ओपनर रिजा हेन्डरिक्सले ३९ रनको योगदान दिए ।

पहिलो खेलमा अष्ट्रेलियासँग हार्न पुगेको दक्षिण अफ्रिकालाई भने मंगलबारको जितले केही राहत मिलेको छ । समूह १ मा इङल्याण्ड, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाको समान २–२ अंक छ भने बंगलादेश र वेस्ट इण्डिज अंकविहीन छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...