भारतमाथि पाकिस्तानको ऐतिहासिक र शानदार जित

काठमाडौं (एजेन्सी) । विश्वकप क्रिकेटको इतिहास मै पाकिस्तानले आफ्नो चिरप्रतिद्वन्द्वी भारतमाथि ऐतिहासिक र शानदार जित दर्ता गरेको छ । विश्वकप क्रिकेटको इतिहास मै १३औं पटकको भिडन्तमा पाकिस्तानले पहिलोपटक भारतलाई हराउन सफल भएको हो । साथै क्रिकेट विश्वकपमा २९ बर्षपछि भारतमाथि पाकिस्तानको यो पहिलो जित समेत थियो ।

सुपर १२ तर्फ समुह २ मा परेको यी दुई टोली आइतबार युएईको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भिडेका थिए । त्यो खेलमा पाकिस्तानले भारत विरुद्ध ऐतिहासिक मात्र नभएर १० विकेटको शानदार जित समेत दर्ता गर्यो ।

खेलमा टस पनि पाकिस्तानले नै जितेको थियो । पहिले फिल्डिङ रोजेको पाकिस्तानले भारतलाई निर्धारित २० ओभरमा १५१ रन बनाउन दियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन जोडे भने रिषभ पन्तले ३९ रनको योगदान दिए । बलिङतर्फ प्लेयर अफ द म्याच समेत घोषित पाकिस्तानका शाहिद अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै हसन अलीले २ तथा शदाब खान र हरिश रौफले समान १–१ विकेट आफ्नो खातामा पारेका थिए । उता जवाफी लक्ष्य पछ्याएको पाकिस्तानको ब्याटिङ पनि शानदार रह्यो । पाकिस्तानले निर्धारित लक्ष्य १७.५ ओभरमा कुनै विकेट नगुमाई १५२ रन बनाएर जित हासिल गरेको थियो ।

पाकिस्तानका लागि ओपनरद्वय मोहम्ममद रिजवान र कप्तान बाबर आजमले क्रमशः नटआउट ७९ र ६८ रन बनाए । प्रतियोगिता अन्तरगत यी दुवै टोलीको आगामी खेल न्युजिल्याण्डसँग छ । पाकिस्तानले न्युजिल्याण्डसँग २६ अक्टुबरका दिन खेल्नेछ भने भारतले ३१ अक्टुबरका दिन खेल्ने कार्यक्रम छ ।

समूह १ मा श्रीलंकाको जित

त्यस्तै आइतबार नै भएको समूह १ तर्फ दुई दक्षिण एसियाली देशबीचको खेलमा श्रीलंकाले जित हात पारेको छ । शारजहाँमा सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले हरायो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको थियो । उता जवाफी लक्ष्य पछ्याएको श्रीलंकाले १८.५ ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाउँदै जित हासिल गर्न सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...