सुपर १२ को भिडन्त शुरु, दावेदार अष्ट्रेलियाको विजयी शुरुवात

काठमाडौं (एजेन्सी) । जारी आइसीसी टि–२० क्रिकेट विश्वकपतर्फ सुपर १२ को समूह १ मा रहेको दावेदार मध्ये एक अष्ट्रेलियाले विजयी शुरुवात गरेको छ । अबुधाबीमा सम्पन्न खेलमा अष्ट्रेलियाले अर्को बलियो टोली दक्षिण अफ्रिका माथि ५ विकेटको जित हात पारेको हो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई निर्धारित २० ओभरमा ११८ रन मात्र बनाउन दियो । दक्षिण अफ्रिकाका लागि एडन मारक्रमले सर्वाधिक ४० रनको योगदान दिए ।

बलिङतर्फ अष्ट्रेलियाका लागि जोश हेजलवुड, मिचेल स्टार्क र एडम जम्पाले समान २–२ विकेट लिए । त्यस्तै पेट कमिन्स र ग्लेन म्याक्सवेलको नाममा १–१ विकेट रह्यो ।

त्यस्तै जवाफी लक्ष्य पछ्याएको अष्ट्रेलियाले पनि जितका लागि संघर्ष गर्नुपर्यो । सहज लक्ष्य पछ्याए तापनि अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाउँदै जित हात पारेको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए भने मार्कस स्टोइनिसले नटआउट २४ रन जोडे ।

खेलको प्लेयर अफ द म्याच भने अष्ट्रेलियाका जोश हेजलवुड घोषित भए । उनले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर महत्वपुर्ण दुई विकेट लिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...