टि–२० विश्वकपः सुपर १२ मा बंगलादेश

काठमाडौं (एजेन्सी) । जारी टि–२० क्रिकेट विश्वकपको क्वालिफायर राउण्डमा सुस्त शुरुवात गरेको बंगलादेशले लगातार दुई जित निकाल्दै सुपर १२ को यात्रा तय गरेको छ ।

बिहीबार ओमानको राजधानी मस्कटमा सम्पन्न आफ्नो तेस्रो खेलमा बंगलादेशले तुलनात्मक रुपमा कमजोर पपुआ न्युगिनीलाई ८४ रनको फराकिलो अन्तरले हराउँदै सुपर १२ को भिडन्त पक्का गरेको हो ।

क्वालिफायर राउण्डतर्फ समूह बी मा परेको बंगलादेशले बिहीबार टस जित्दै पहिले ब्याटिङ रोजेर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रनको विशाल योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि कप्तान महमुल्लाहले सर्वाधिक ५० रन बनाउँदा प्लेयर अफ द म्याच समेत घोषित शाकिब अल हसनले ४६ रनको योगदान दिए । खेलमा अलराउण्ड प्रदर्शन गरेका शाकिबले ४ विकेट समेत लिएका थिए ।

उता जवाफी लक्ष्य पछ्याएको पपुआ न्युगिनी भने १९.३ ओभरमा ९७ रन बनाएर अलआउट भएको थियो । यो हारसँगै तीन खेलबाट अंकविहीन पपुआ न्युगिनी प्रतियोगिताबाट पनि बाहिरिएको छ ।

आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग स्तब्धपुर्ण हार बेहोरेको बंगलादेश भने ४ अंकका साथ शिर्ष स्थानमा रहेर सुपर १२ पुगेको छ । त्यस्तै स्कटल्याण्डको पनि ४ अंक छ भने सोही समूहमा रहेको आयोजक ओमानको २ अंक छ । दुवै टोली बिहीबार भिड्दै छन् । र यी दुई टोलीबीको नतिजाले समूह बी बाट सुपर १२ मा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...