टि–२० क्रिकेट विश्वकपः आयरल्याण्डका कर्टिसले रचे इतिहास

काठमाडौं (एजेन्सी) । जारी आइसीसी टि–२० क्रिकेट विश्वकपको क्वालिफायर म्याचतर्फ आयरल्याण्डका कर्टिस केम्फरले एकै ओभरका लगातार चार बलमा चार विकेट लिएर इतिहास रचेका छन् ।

उनले सोमबार भएको समूह ए तर्फको तेस्रो क्वालिफायर म्याचमा नेदरल्याण्डस विरुद्ध सो सफलता हासिल गरेका हुन् । खेलमा प्लेयर अफ द म्याच समेत चुनिएका कर्टिस कै उत्कृष्ट प्रदर्शनको सहयोगमा आयरल्याण्डले ७ विकेटको जित हात पारेको थियो । ब्याटिङतर्फ पनि सात रनमा नटआउट थिए ।

कर्टिस अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा ह्याट्रिक लिने आयरल्याण्डका पहिलो खेलाडी हुन् भने विश्वकपमा ह्याट्रिक लिने उनी दोस्रो खेलाडी हुन् । यसअघि सन् २००७ मा अष्ट्रेलियाका विश्वचर्चित बल ब्रेट लीले बंगलादेश विरुद्ध ह्याट्रिक गरेका थिए । त्यस्तै टि–२० क्रिकेटमा समग्रमा यो १९औं ह्याट्रिक समेत थियो ।

कर्टिस चार बलमा चार विकेट लिने तेस्रो खेलाडी

नेदरल्याण्डस विरुद्ध २२ बर्षिय कर्टिसले हात पारेको त्यो उपलब्धी क्रिकेट इतिहास मै दुर्लभ पनि बन्यो । अर्थात् एकै ओभरमा चार बलमा लगातार चार विकेट लिने उनी तेस्रो खेलाडी समेत बने ।

यसअघि यो उपलब्धी रशिद खानले सन् २०१९ मा आयरल्याण्ड विरुद्ध नै हासिल गरेका थिए भने सोही बर्ष श्रीलंकन लिजेण्ड लसिथ मालिंगाले पनि न्युजिल्याण्ड विरुद्ध चार बलमा चार विकेट हात पारेका थिए ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...