आइसीसी टि–२० विश्वकप शुरु, आयोजक ओमानको फराकिलो जित

काठमाडौं (एजेन्सी) । आइतबारदेखि शुरु आइसीसी टि–२० पुरुष क्रिकेट विश्वकपको उद्घाटन खेलमा आयोजक ओमानले शानदार जित निकाल्दै प्रतियोगिताको शुरुवात गरेको छ ।

मस्कट स्थित घरेलु मैदानमा सम्पन्न खेलमा ओमानले आफ्नो पहिलो टि–२० क्रिकेट विश्वकप खेलिरहेको पपुआ न्युगिनीलाई १० विकेटको फराकिलो अन्तरले हरायो ।

टस जित्दै पहिलो फिल्डिङ रोजेको ओमानले पपुआ न्युगिनीलाई निर्धारित २० ओभरमा १२९ रन मात्र बनाउन दियो । पपुआ न्युगिनीका लागि कप्तान असद भालाले सर्वाधिक ५६ रन बनाए ।

बलिङतर्फ ओमानका लागि जिशन मकसुद एक्लैले चार विकेट लिए भने बिलाल खान र कलिमुल्लाहले समान २–२ विकेट आफ्नो खातामा पार्न सफल भए ।

जवाफी लक्ष्य पछ्याएको ओमानले १३.४ ओभरमा बिना कुनै विकेटको क्षतिमा १३१ रन बनाएर दश विकेटको शानदार जित निकाल्यो । ओमानका लागि ओपनरद्वय जतिन्दर सिंहले ७३ तथा अकिब इल्यासले नटआउट ५० रनको पारी खेले ।

खेलको म्यान अफ द म्याच भने ओमान कै जिशन मकसुद घोषित भए । स्मरण रहोस, प्रतियोगिताको पहिलो चरणमा सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सुपर–१२ मा प्रवेश गर्नेछन् । जहाँ भारत, पाकिस्तान, अष्ट्रेलिया जस्ता अन्य बलिया देशहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतियोगिताको फाइनल खेल १४ नोभेम्बरका दिन हुनेछ । गत संस्करणको यो उपाधि वेस्ट इण्डिजले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...