सिरिजमा फर्कियो इङल्याण्ड, भारतको फराकिलो हार

एजेन्सी । इङल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले लिडसमा सम्पन्न तेस्रो टेष्टमा घरेलु टोलीसँग एक पारी र ७६ रनको फराकिलो हार बेहोरेको छ ।

हेडिङलेमा टस जित्दै पहिले ब्याटिङ रोजेको भारतले पहिलो पारीमा निकै खराब प्रदर्शन गर्दै ७८ रनमै अलआउट भएको थियो । भारतीय पारी ध्वस्त पार्ने क्रममा इङल्याण्डका अनुभवी बल जेम्स एण्डरसन र क्रेग ओभरटनले सर्वाधिक ३ विकेट लिए भने ओली रोबिन्सन र साम कुरानले २–२ विकेट हात पारे ।

त्यस्तै आफ्नो ब्याटिङ पारी शुरु गरेको इङल्याण्डले पहिलो पारी मै ४३२ रनको फराकिलो योगफल बनायो । घरेलु टोलीका लागि कप्तान जोय रुटले सर्वाधिक १२१ रनको शतकीय पारी खेले । दावीद मालनले पनि ७० रन बनाए भने ओपनरद्वय हसिब हामिद र रोरी बन्र्सले क्रमशः ६८ र ६१ रनको योगदान दिए ।

बलिङतर्फ भारतका लागि मोहमद सामीले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी मोहम्मद सिराज, जसप्रित बुमराह र रबिन्द्र जेडेजाले समान २–२ लिए आफ्नो नाममा लेखाए ।

त्यसैगरी दोस्रो पारी शुरु गरेको भारतले फेरि पनि राम्रो ब्याटिङ प्रदर्शन गर्न सकेन । भारतले दोस्रो पारीमा पनि २७८ रन बनाएर अलआउट बन्यो र फराकिलो हार बेहोर्न बाध्य बन्यो । दोस्रो पारीमा भारतका लागि चेतेश्वर पुजाराले सर्वाधिक ९१ रन बनाए भने ओपनर रोहित शर्माले ५९ रनको योगदान दिए । त्यस्तै कप्तान विराट कोहलीले ५५ रन बनाए ।

दोस्रो पारीमा पनि इङल्याण्डको बलिङ धारिलो देखियो । इङलिस टोलीका लागि ओली रबिन्सनले सर्वाधिक ५ विकेट लिए । क्रेग ओभर्टनले ३ विकेट हात पार्दा जेम्स एण्डरसन र मोइन अलीको नाममा १–१ विकेट रहयो ।

सिरिजमा फर्कियो इङल्याण्ड

भारतको शानदार जितसँगै इङल्याण्डले ५ म्याचको टेष्ट सिरिजमा पूनःरागमन गरेको छ । साथै दुई टेष्ट म्याच खेल्न बाँकी रहँदा सिरिज १–१ को स्थितिमा पुगेको छ ।

नटिंघममा भएको पहिलो टेष्ट बराबरीमा सकिएको थियो भने लण्डनमा भएको दोस्रो टेष्टमा भारत १५१ रनले विजयी भएको थियो । सिरिज अन्तरगतको चौथो टेष्ट २ सेप्टेम्बरदेखि लण्डन स्थित द ओभलमा शुरु हुँदैछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...