पाँच बर्षपछि पाकिस्तानी टोली भारत आउने पक्का

एजेन्सी । भारतमा यहि आउँदो अक्टुबर–नोभेम्बरमा हुने आइसीसी वल्र्ड टि–२० प्रतियोगितामा सहभागिता जनाउनका लागि पाकिस्तानी क्रिकेट टोलीलाई कुनै समस्या नहुने भएको छ । भारतीय सरकारले पाकिस्तानी खेलाडी तथा मिडियाहरुलाई भिषा दिन अनुमति दिएपछि यो सम्भव भएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को शुक्रबार बसेको भर्चुअल बैठकले सो कुराको पुष्टी गरेको छ । बीसीसीआईले पाकिस्तानी खेलाडीहरुलाई भिषाको अनुमति मिले तापनि समर्थकहरुलाई भिषा दिने नदिने कुरामा भने अझै निर्णय नभएको बताएको छ । साथै यसबारे सम्बन्धित मन्त्रालयले निर्णय लिने समेत बताइएको छ ।

स्मरण रहोस, यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) का अध्यक्ष एहसान मनीले बीसीसीआईलाई ३१ मार्चसम्म आफ्ना खेलाडीहरुको भिषाबारे ठोस निर्णय गर्न आग्रह गरेको थियो । त्यसलगतै आइसीसीको बसेको बोर्ड मिटिङले यो विवाद एक महिना भित्र सुल्झाउने निर्णय गरेको थियो ।

पाकिस्तानले भारतमा अन्तिमपटक सन् २०१६ मा सम्पन्न आइसीसी टि–२० क्रिकेट विश्वकप खेलेको थियो । साथै यी दुई देशबीच क्रिकेट सिरिज भने अन्तिमपटक सन् २०१२–१३ मा भएको थियो । त्यसयता यी दुवै देशले एक आपसमा सिरिज खेलेका छैनन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...