सेन्चयुरियनमा पाकिस्तानलाई सिरिज

एजेन्सी । दक्षिण अफ्रिका भ्रमणमा रहेको पाकिस्तानले शुक्रबार घरेलु टोली विरुद्धको अन्तर्राष्ट्रिय टि–२० सिरिजको उपाधि जित्न सफल भएको छ । सेन्चुरियन स्थित सेन्चुरियल पार्कमा सम्पन्न चौथो तथा अन्तिम टि–२० म्याचमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै समग्रमा ३–१ ले सिरिजमाथि कब्जा जमाउन सफल भएको हो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको पाकिस्तानले घरेलु टोलीलाई १९.३ ओभरमा १४४ रनमै अलआउट गरेको थियो । दक्षिण अफ्रिकाका लागि रसी भान डेर डुसेनले सर्वाधिक ५२ रनको योगदान दिए । त्यस्तै ओपनर जनेमन मलनले ३३ रनको पारी खेले ।

बलिङतर्फ पाकिस्तानका लागि फहिम अशरफ र हसन अलीले समान ३–३ विकेट लिंदा हरिस रौफले २ विकेट आफ्नो नाममा लेखाए । त्यस्तै शाहिन शा अफ्रिदी र मोहम्मद नवाजले समान १–१ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम ओभरको अन्तिम बल बाँकी छँदा ७ विकेटको क्षतिमा १४९ रन बनाएर रोमाञ्चक जित हात पारेको थियो । पाकिस्तानका लागि फकर जमनले सर्वाधिक ६० रनको पारी खेल्दै निर्णायक भूमिका खेले । त्यस्तै तल्लो क्रमका ब्याटसम्यान मोहम्मद नवाज २५ रनमा नाबाद रहे ।

अन्तिम खेलको म्यान अफ द म्याच पाकिस्तान कै फहिम अशरफ चुनिए भने म्यान अफ द सिरिज पनि पाकिस्तान कै बाबर आजम घोषित भए । स्मरण रहोस, आजमले सिरिज भरि उत्कृष्ट प्रदर्शन गर्दै कुल २१० रन बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...