आमिरको सन्यास मानिसक यातना नै थियो त ?

एजेन्सी । पाकिस्तानी क्रिकेटका चर्चित पेस बलर मोहम्मद आमिरले बिहीबार २८ बर्षको उमेरै क्रिकेटबाट सन्यासको घोषणा गरेका सबैलाई चकित तुल्याईदिएका छन् ।

स्रोतका अनुसार अमिरले पाकिस्तानी टोलीको व्यवस्थापन पक्षले आफूलाई दिने गरेको मानसिक यातना कै कारण सन्यास लिएको बताएका छन् ।

स्मरण रहोस, गत बर्ष मात्र टेष्ट क्रिकेटबाट सन्यास लिएका अमिरलाई शुक्रबारदेखि शुरु हुन गईरहेको न्युजिल्याण्ड भ्रमणमा जाने पाकिस्तानी टोलीमा समावेश गरिएको थिएन ।

“म एकदिवसीय क्रिकेटका लागि सधै उपलब्ध थिएँ । तर व्यवस्थापन पक्षले मलाई टोलीको एक सदस्यका रुपमा राम्रो व्यवहार कहिल्यै गरेन ।” अमिरको भनाई उद्दत गर्दै स्रोतले लेखेको छ । सन् २००९ मा मात्र १७ बर्षको उमेरमा डेब्यु गरेका आमिरले पाकिस्तानका लागि सबै प्रारुपको क्रिकेटमा गरेर कुल १४७ म्याच खेलेका थिए ।

सन् २००९ मै इङल्याण्डमा सम्पन्न आइसीसी टि–२० विश्वकपको उपाधि समेत जितेका आमिरले सन् २०११ मा इङल्याण्ड विरुद्धको टेष्ट म्याचमा खेल मिलेमतो गरेको भन्दै पाँच बर्षको प्रतिबन्ध समेत खेपेका थिए । त्योबेला आमिरसँगै मोहम्मद आसिफ र सलमान बटमाथि खेल मिलेमतो गरेको आरोप लागेको थियो र तीनै जना दोषी पाइएका थिए ।

प्रतिवन्ध फुकुवा भएपछि सन् २०१६ को जनवरीमा फेरि सक्रिय क्रिकेटमा फर्किएका आमिरले पाकिस्तानका लागि सन् २०१७ को च्याम्पियन्स् ट्रफी समेत जितेका थिए । आफ्नो करियरमा उनले देशका लागि समग्रमा २५९ विकेट समेत लिएका छन् ।

आमिरको यो अप्रत्याशित निर्णयले अहिले चर्चा समेत पाईरहेको छ । कतिपयले यसलाई पाकिस्तान टिमभित्र फेरि किचलो उब्जिएको अनुमान गर्न थालेका छन् ।

उता आमिरले गरेको सन्यासको घोषणाबारे पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले त्यो आमिरको व्यक्तिगत निर्णय भएको र सो निर्णयलाई आफूहरुले सम्मान गर्ने बताएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...