क्रिकेटको सबै प्रारुपबाट पटेलको सन्यास

एजेन्सी । टेष्ट क्रिकेटमा १७ बर्ष १५२ दिनको हुँदा डेब्यु गर्दै टेष्ट क्रिकेटमा कम उमेर मै डेब्यु गर्ने सबैभन्दा कान्छा विकेटकिपरको किर्तिमान बनाएका भारतीय क्रिकेटर पार्थिव पटेलले क्रिकेटको सबै प्रारुपबाट सन्यास लिएका छन् ।

पटेलले ३५ बर्षको उमेर बुधबार क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । आफ्नो करियरमा २५ टेष्ट, ३८ एकदिवसीय र २ अन्तर्राष्ट्रिय टि–२० म्याच खेलेको पटेलले समग्रमा कुल १७०६ रन समेत बनाए । क्रिकेट पिचमा विकेटकिपरको भूमिकामा रहने पटेलले आफ्नो करियरमा ९३ क्याच र १९ स्टम्पिङ समेत गरे ।

सन् २००२ मा इङल्याण्ड विरुद्ध खेल्दै भारतका लागि टेष्ट क्रिकेटमा डेब्यु गरेका पटेलले भारतका लागि अन्तिमपटक दुई बर्ष अघि दक्षिण अफ्रिका विरुद्ध खेलेका थिए ।

त्यस्तै सन् २००२ मै न्युजिल्याण्ड विरुद्ध खेल्दै भारतका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गरेका पटेलले अन्तिमपटक सन् २०१२ मा श्रीलंका विरुद्ध एकदिवसीय म्याच खेलेका थिए ।

त्यसैगरी सन् २०११ मा पटेलले भारतका लागि वेस्ट इण्डिज विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय टि–२० मा डेब्यु गरेका थिए भने सोही बर्ष इङल्याण्ड विरुद्ध अन्तिमपटक टि–२० म्याच खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...