लगातार दोस्रो जितसँगै भारतलाई टि–२० सिरिज

एजेन्सी । दोस्रो अन्तर्राष्ट्रिय टि–२० म्याचमा पनि उत्कृष्ट जित निकाल्दै भारतले अष्ट्रेलिया विरुद्धको टि–२० सिरिजमाथि कब्जा जमाएको छ । आइतबार भएको दोस्रो टि–२० म्याचमा ६ विकेटको जित निकाल्दै भारतले तीन म्याचको सिरिज २–० ले जित्न सफल भयो । यसअघि भारतले क्यानबेरामा सम्पन्न पहिलो टि–२० म्याच ११ रनले जितेको थियो ।

सिड्नीमा टस जितेको भारतले पहिले फिल्डिङ रोज्यो । ब्याटिङका लागि उत्रिएको अष्ट्रेलियाले पनि राम्रो प्रदर्शन गर्दै २० ओभरमा ५ विकेट गुमाएर १९४ रनको योगफल तयार पार्यो । अष्ट्रेलियाका लागि पहिलोपटक कप्तानी गरिरहेका ओपनर म्याथ्यु वेडले सर्वाधिक ५८ रन बनाए । स्टिव स्मिथले पनि ४६ रनको योगदान दिए ।

अष्ट्रेलियाले थप ९ रन भने अतिरिक्त रनका रुपमा पाएको थियो । बलिङतर्फ भारतका लागि टि नटराजनले २ विकेट हात पार्दा शार्दुल ठाकुर र युजवेन्द्र चहलले समान १–१ विकेट लिए ।

भारतीय ब्याटिङ पारी

जवाफी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा चार विकेट गुमाएर १९५ रन बनाउँदै उत्कृष्ट जित निकाल्यो । भारतका लागि प्लेयर अफ द म्याच समेत घोषित हार्दिक पाण्डयाले २२ बलमा नटआउट ४२ रन बनाए । त्यस्तै ओपनर शिखर धवनले पनि ५२ रनको योगदान दिंदा अर्का ओपनर केएल राहुलले ३० रन बनाए । कप्तान विराट कोहलीको ४० रनको योगदान पनि अहम रह्यो ।

बलिङतर्फ अष्ट्रेलियाका डेनियल साम्स, एन्ड्रियु टाई, मिचेल स्विपसन र एडम जम्पाले समान १–१ विकेट आफ्नो पोल्टामा पारे । अष्ट्रेलियन टोलीमा आइतबार आरोन फिन्च, डेविड वार्नर, मिचेल स्टार्क जस्ता अनुभवी खेलाडीहरुको अभाव खट्किएको स्पष्ट देखियो ।

अन्तिम म्याच मंगलबार

सिरिज अन्तरगत भारत र अष्ट्रेलिया बीचको अन्तिम टि–२० म्याच आउँदो डिसेम्बर ८ तारीख मंगलबारका दिन सिड्नी मै हुनेछ । सो खेलमा भारतलाई सिरिज क्लिन स्वीप गर्ने अवसर हुनेछ भने अष्ट्रेलियाका लागि प्रतिष्ठाको खेल बन्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...