विवाद र चोटकाबीच जडेजा सिरिजबाट बाहिर

एजेन्सी । भारतीय क्रिकेट टोलीका अलराउण्डर रविन्द्र जडेजाले अष्ट्रेलिया विरुद्धको जारी अन्तर्राष्ट्रिय टि–२० सिरिजको बाँकी खेलहरु खेल्न नसक्ने भएका छन् ।

शुक्रबार सिड्नीमा सम्पन्न पहिलो टि–२० म्याचमा ब्याटिङ गर्ने क्रममा जडेजाको हेलमेटमा बलले लागेको थियो । सो खेलमा जडेजाले भारतका लागि नटआउट ४४ रन बनाएका थिए ।

यद्यपि बलिङ गर्ने पारीमा भने जडेजाको स्थानमा युजवेन्द्र चहललाई भारतले कन्कशन वैकल्पिक खेलाडीका रुपमा मैदानमा उतारेको थियो । चहलले खेलमा ३ विकेट लिएर भारतलाई अहम ११ रनको जित दिलाएका थिए । उनी कन्कशन वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेर प्लेयर अफ द म्याच चुनिने पहिलो खेलाडी समेत बनेका थिए ।

यद्यपि जडेजाको विकल्पमा चहललाई खेलाउने भारतको निर्णयलाई लिएर अष्ट्रेलियन कप्तान तथा प्रशिक्षक भने असन्तुष्ट थिए । त्यसले विवादको रुप पनि लिएको थियो । अष्ट्रेलियाका कप्तान आरोन फिन्च र प्रशिक्षक जस्टिन लेंगरले म्याच रेफ्री डेविड बुनसँग यसबारे कुरा पनि उठाएका थिए ।

तर आइसीसीको नयाँ नियम कन्कशन रिप्लेसमेन्टका अनुसार रेफ्री बुन आफ्नो निर्णयमा अडिग रहेका थिए । खेल भारतले जितेपछि विभिन्न क्रिकेट व्यक्तित्वहरुले यसबारे आ–आफ्नो धारणा समेत राखेका थिए ।

जडेजाको स्थानमा शार्दुल

बाँकी दुई टि–२० म्याच खेल्न नसक्ने भएपछि जडेजाको स्थानमा शार्दुल ठाकुरले खेल्ने कुरा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । ठाकुरले अष्ट्रेलिया विरुद्ध सम्पन्न एकदिवसीय सिरिज अन्तरगत अन्तिम एकदिवसीयमा खेलेका थिए । त्यो खेलमा ठाकुरले ५१ रन दिएर ३ विकेट समेत लिएका थिए ।

जडेजा चिकित्सकको निगरानीमा

चोटिल बनेपछि रविन्द्र जडेजा चिकित्सकको निगरानीमा रहेको बीसीसीआईले जनाएको छ । साथै हाल उनको डाक्टरहरुले चेकजाँच गरिरहेको र आवश्यक परेको खण्डमा उनको टाउकोको स्क्यान पनि गरिने बताइएको छ ।

स्मरण रहोस, तीन म्याचको टि–२० सिरिज अन्तरगत भारतले अष्ट्रेलियासँग आइतबार सिड्नीमा दोस्रो म्याच खेल्दैछ । तीन म्याचको सिरिजमा भारत अहिले १–० ले अगाडी छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...