पहिलो टि–२०ः भारतको जितमा चाहल चम्किए

एजेन्सी । स्पिनर युजवेन्द्र चाहलले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि भारतले अष्ट्रेलिया विरुद्धको पहिलो टि–२० म्याचमा ११ रनको रोमाञ्चक जित हात पारेको छ ।

त्यति मात्र नभएर चाहल अन्तर्राष्ट्रिय क्रिकेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान गरेर प्लेयर अफ द म्याचको पुरस्कार पाउने पहिलो खेलाडी समेत बनेका छन् । स्मरण रहोस, शुक्रबार भारतको ब्याटिङ पारीमा रविन्द्र जडेजा घाइते हुँदै मैदान बाहिरिए पछि चाहल उनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

भारतको ब्याटिङ पारी

क्यानबेरामा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो । भारतका लागि ओपनर केएल राहुलले ५१ रन बनाउँदै अर्धशतक पूरा गरे ।

कप्तान विराट कोहली भने व्यक्तिगत ९ रनको योगफलमा नै आउट हुन पुगेका थिए । त्यस्तै तल्लोक्रमका ब्याटसम्यान रविन्द्र जडेजाले पनि ४४ रनको योगदान दिएका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका लागि मोइसेस हेनरिक्सले ३ विकेट लिए । त्यस्तै मिचेल स्टार्कले २ विकेट हात पारे भने एडम जम्पा र मिचेल स्विपसनले समान १–१ विकेट लिए ।

अष्ट्रेलियाको ब्याटिङ पारी

उता जवाफी लक्ष्य पछ्याएको अष्ट्रेलियाले भने निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । घरेलु टोलीका लागि कप्तान तथा ओपनर आरोन फिन्चले ३५ रन बनाए भने अर्का ओपनर डि’एर्सी शर्टले ३४ रनको पारी खेले ।

त्यस्तै मोइसेस हेनरिक्सले पनि ३० रन बनाए । सिन एबोट र मिचेल स्वीपसोन समान १२–१२ रनमा नाबाद रहे । भारत विरुद्ध एकदिवसीय म्याचमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द सिरिज बनेका स्टिव स्मिथले पनि मात्र १२ रन बटुल्न सके ।

उता बलिङतर्फ भारतका लागि चाहालले ३ विकेट लिनु बाहेक टि नटराजनले पनि समान ३ विकेट हात पारे । त्यस्तै दिपक चाहरले एक विकेट आफ्नो नाममा लेखाए ।

आगामी खेल कहिले ?

शुक्रबारको नतिजापछि तीन म्याचको टि–२० सिरिजमाथि भारतले १–० को अग्रता बनाएको छ । सिरिज अन्तरगत दोस्रो अन्तर्राष्ट्रिय टि–२० म्याच सिड्नीमा आइतबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...