क्लिन स्वीपबाट जोगियो भारत, अष्ट्रेलियालाई ओडिआई सिरिज

एजेन्सी । अलराउण्डरद्वय हार्दिक पाण्डया र रविन्द्र जडेजाले नटआउट शतकीय साझेदारी गरेपछि भारतले अष्ट्रेलिया विरुद्धको अन्तिम एकदिवसीयमा झिनो अन्तरको जित निकालेको छ । साथै सिरिजमा क्लिन स्वीप हारबाट समेत जोगिएको छ ।

क्यानबेरामा बुधबार भएको तेस्रो एकदिवसीयमा भारतले अष्ट्रेलियालाई १३ रनले हरायो । टस जित्दै पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३०२ रनको योगफल तयार पारेको थियो । उता जवाफी लक्ष्य पछ्याएको अष्ट्रेलिया भने ४९.३ ओभरमा २८९ रन बनाउँदै अलआउट भएको थियो ।

भारतको ब्याटिङ

ब्याटिङतर्फ भारतका लागि हार्दिक पाण्डयाले नटआउट सर्वाधिक ९२ रन बनाए । उनको त्यो करियर कै सर्वाधिक व्यक्तिगत योगफल समेत थियो । पाण्डया प्लेयर अफ द म्याच समेत चुनिए । त्यस्तै रविन्द्र जडेजाले पनि ६६ रनको नटआउट पारी खेले ।

जडेजा र पाण्डयाले भारतीय पारी उकास्ने क्रममा १५० रनको नटआउट शतकीय साझेदारी समेत गरे । जुन भारतको जितका लागि बलियो आधार बनेको थियो । कप्तान विराट कोहलीले भने ६३ रन बनाउँदै अर्धशतक पूरा गरे ।

उता बलिङतर्फ अष्ट्रेलियाका लागि एस्टन अगरले सर्वाधिक २ विकेट लिए । त्यस्तै जोश हेजलवुड, सिन एबोट र एडम जम्पाले समान १–१ विकेट आफ्नो नाममा लेखाए ।

अष्ट्रेलियाको ब्याटिङ

उता घरेलु टोली अष्ट्रेलियाको ब्याटिङ पछिल्ला दुई एकदिवसीयमा जस्तो जमेन । ओपनर तथा कप्तान आरोन फिन्चले सर्वाधिक ७५ रन बनाए । ग्लेन म्याक्सवेलले ५९ रनको योगदान दिए । त्यस्तै एलेक्स करीले ३८ रन बनाए भने अन्य ब्याटसम्यानले खासै योगदान दिन सकेनन् ।

पछिल्ला दुई एकदिवसीयमा लगातार शतक बनाएका स्टिभ स्मिथ व्यक्तिगत ७ रनको योगफलमा आउट हुँदा घरेलु टोली दबाबमा परेको थियो । यद्यपि स्मिथले बुधबार म्यान अफ द सिरिजको उपाधि जित्न भने सफल भए ।

बलिङतर्फ भारतका लागि शरदुल ठाकुरले सर्वाधिक ३ विकेट लिए । त्यसैगरी जसप्रित बुमराह र टि नटराजनले २–२ विकेट हात पार्दा कुलदिप यादव र रविन्द्र जडेजाले १–१ विकेट आफ्नो खातामा पारे ।

अष्ट्रेलियालाई सिरिज

अन्तिम एकदिवसीयमा पराजित हुन पुगे तापनि अष्ट्रेलियाले समग्रमा तीन म्याचको सिरिज २–१ ले यसअघि नै जितिसकेको थियो । भारत विरुद्ध अष्ट्रेलियाले सिड्नीमा भएका दुई एकदिवसीयमा उत्कृष्ट जित निकाल्दै सिरिजमाथि कब्जा जमाएको थियो ।

आगामी खेलतालिका

अष्ट्रेलिया भ्रमणमा रहेको भारतले अब घरेलु टोली विरुद्ध ३ अन्तर्राष्ट्रिय टि–२० र चार टेष्ट म्याचको सिरिज खेल्नेछ । टि–२० सिरिज ४ डिसेम्बर शुक्रबारदेखि क्यानबेरामा शुरु हुनेछ । बाँकी दुई टि–२० म्याच भने सिड्नीमा हुनेछ ।

त्यस्तै टेष्ट सिरिजतर्फ १७ डिसेम्बरदेखि एडिलेडमा पहिलो टेष्ट म्याच हुनेछ । अन्तिम तथा चौथो टेष्ट म्याच भने १५ देखि १९ जनवरी (२०२१) सम्म ब्रिसबेनमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...