फिन्चको कप्तानी पारी, सिड्नीमा भारत निराश

एजेन्सी । क्रिकेटको तीन तहको सिरिज खेल्न हाल अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले शुक्रबार सम्पन्न पहिलो एकदिवसीयमा निराशाजनक हार बेहोरेको छ ।

सिड्नीमा सम्पन्न खेलमा भारतले घरेलु टोलीसँग ६६ रनको हार बेहोरेको हो । टस जित्दै पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रनको योगफल तयार पारेको थियो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले शतकीय पारी खेल्दै ११४ रन बनाए । साथै उनले एकदिवसीय करियरमा ५००० रन पनि पूरा गरे । त्यस्तै म्यान अफ द म्याच घोषित स्टिव स्मिथले पनि १०५ रनको शतकीय पारी खेले । ओपनर डेविड वार्नरले आक्रमक ६९ रनको योगदान दिए ।

बलिङतर्फ भारतका बलहरु महँगो साबित भइदिए । यद्यपि मोहमद सामीले ५९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । त्यस्तै युजवेन्द्र चाहल, नवदिप साइनी र जसप्रित बुमराहले समान १–१ विकेट हात पारे ।

उता जवाफी लक्ष्य पछ्याएको भारतले भने निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०८ रन मात्र बनाउन सक्यो । भारतका लागि ओपनर शिखर धवनले ७४ रन बनाए । त्यस्तै मध्यक्रमका अलराउण्डर हार्दिक पाण्डयाले आक्रमक पारी खेल्दै ९० रन बनाए तापनि टोलीलाई जित दिलाउन सकेनन् । कप्तान विारट कोहली २१ रन मै आउट हुँदा भारतीय टोली दबाबमा परेको थियो ।

उता बलिङतर्फ अष्ट्रेलियाका लागि स्पिनर एडम जम्पाले सर्वाधिक ४ लिए भने जोश हेजलवुडले ३ विकेट आफ्नो नाममा लेखाए । त्यस्तै मिचेल स्टार्कले १ विकेट लिए ।

यो जितसँगै अष्ट्रेलियाले तीन म्याचको सिरिजमा १–० ले अग्रता बनाउन सफल भएको छ । सिरिज अन्तरगत दोस्रो एकदिवसीय म्याच आइतबार सिड्नी मै हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...