ऐतिहासिक जितका साथ बंगलादेश फाइनलमा

एजेन्सी । बंगलादेश जारी आइसीसी यु–१९ क्रिकेट विश्वकपको इतिहास मै पहिलोपटक फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै बंगलादेशले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २११ रनको मध्यम योगफल तयार पारेको थियो । न्युजिल्याण्डका लागि मध्यक्रमका ब्याट्सम्यान बेकह्याम व्हिलर ग्रीनरले नटआउट ७५ रन बनाए । त्यस्तै निकोलास लिडस्टोनले ४४ रनको योगदान दिए ।

बलिङतर्फ बंगलादेशका लागि शोरिफुल इस्लामले सर्वाधिक ३ विकेट लिए भने शमिम होसेन र हसन मुरादले समन २–२ विकेट हात पारे । त्यस्तै रकिबुल हसनले १ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको बंगलादेशले ४ विकेट गुमाएर ४४.१ ओभरमा २१५ रन बनाउँदै जित निकालेको थियो । बंगलादेशका लागि प्लेयर अफ द म्याच समेत घोषित महमुदुर हसन जोएले १०० रनको शतकीय पारी खेले । त्यस्तै तोविद हृदयले ४० तथा शहादत होसेनले पनि समान ४० रनको नाबाद पारी खेले ।

बंगलादेशले अब उपाधिका लागि दावेदार तथा डिफेन्डिङ च्याम्पियन भारतसँग आइतबार फाइनल खेल्नेछ । भारतले मंगलबार मात्र चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...