यु-१९ विश्वकपः भारतको लगातार दोस्रो र फराकिलो जित

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आइसीसी यु–१९ क्रिकेट विश्वकपमा डिफेन्डिङ च्याम्पियन भारतले समूह चरणमा लगातार दोस्रो र फराकिलो जित हात पारेको छ ।

समूह ए मा रहेको भारतले मंगलबार नवप्रवेशी जापानलाई १० विकेटको फराकिलो अन्तरले हरायो । टस जित्दै पहिले फिल्डिङ रोजेको भारतले जापानलाई २२.५ ओभरमा ४१ रनमै अलआउट गरेको थियो ।

जापानले बनाएको यो योगफल प्रतियोगिताको इतिहास मै दोस्रो सबैभन्दा कम योगफल समेत हो । यसअघि सन् २००४ मा अष्ट्रेलिया विरुद्ध स्कटल्याण्ड २२ रनमै अलआउट भएको थियो ।

जापानको पारीमा व्यक्तिगत उच्च योगफलका रुपमा केन्टो डोवेलले ७ रन बनाए । जापानका पाँच ब्याट्सम्यान शून्य रनको स्थिति मै आउट भएका थिए ।

बलिङतर्फ भारतका लागि रवी बिस्नोईले सर्वाधिक ४ विकेट लिए भने कार्तिक त्यागीले ३ तथा आकाश सिंहले २ विकेट आफ्नो नाममा लेखाए । त्यसैगरी विद्याधर पाटिलले १ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको भारतले भने केवल ४.५ ओभरमा बिना कुनै विकेट गुमाएर ४२ रन बनाउँदै सहज जित हात पारेको थियो । भारतको पारीमा ओपनरद्वय यशश्वी जैसवाल र कुमार कुसाग्राले क्रमश नटआउट २९ र १३ रन बनाए ।

खेलको म्यान अफ द म्याच भने भारतका लागि ४ विकेट लिएका रवी विस्नोई घोषित भए । यो जितसँगै २ खेलबाट ४ अंक जोडेको भारत शिर्ष स्थानमा छ र नकआउट चरणमा लगभग आफ्नो स्थान पक्का गरेको छ । समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्याण्डसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...