यु–१९ क्रिकेट विश्वकप: वेस्ट इण्डिजको ऐतिहासिक जित

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आइसीसी यु–१९ क्रिकेट विश्वकपमा वेस्ट इण्डिजले ऐतिहासिक सफलताका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

किम्बर्लीमा भएको समूह बी तर्फको पहिलो खेलमा वेस्ट इण्डिजले दावेदार मध्ये एक अष्ट्रेलियालाई ३ विकेटले हरायो । प्रतियोगिताको इतिहासमा वेस्ट इण्डिजले अष्ट्रेलियालाई हराएको यो पहिलोपटक हो ।

प्रतियोगिता शुरु भए यता यी दुई टोली कुल आठ पटक आमने सामने भएका छन् । जसमध्ये यसअघिको सबै सातै भेटमा अष्ट्रेलियाले नतिजा आफ्नो पक्षमा पार्दै आएको थियो ।

शनिबार टस जित्दै पहिले फिल्डिङ रोजेको वेस्ट इण्डिजले अष्ट्रेलियालाई ३५.४ ओभरमा १७९ रनमै अलआउट गरेको थियो । अष्ट्रेलियाका लागि फ्रेजर म्याकगर्कले सर्वाधिक ८४ रन बनाए भने प्याट्रिक रोवीले ४० रनको योगदान दिए ।

बलिङर्फ वेस्ट इण्डिजका लागि जेडन सिल्सले ४ विकेट लिए भने म्याथ्यु फोर्डेले तीन विकेट आफ्नो नाममा लेखाए । त्यस्तै नीम योङले १ विकेट हात पारे ।

उता जवाफी लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ४६ ओभरसम्म संघर्ष गर्दै ७ विकेट गुमाएर १८० रन बनाउँदै जित हात पार्यो । वेस्ट इण्डिजका लागि तल्लो क्रमका ब्याटसम्यान निम योङले ६१ रन बनाए भने म्याथ्यु फोर्डेले २३ रनको योगदान दिए ।

खेलमा अलराउण्ड प्रदर्शन गरेका वेस्ट इण्डिजका निम योङ प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत वेस्ट इण्डिजले आफ्नो दोस्रो खेलमा सोमबार बलियो इङल्याण्डको सामना गर्नेछ भने सोही दिन अष्ट्रेलियाले नाइजेरियासँग खेल्नेछ ।

समूह ए मा वर्षा बाधक

त्यस्तै समूह ए तर्फ वर्षा बाधक भएपछि न्युजिल्याण्ड र जापानले अंक बाँडेका छन् । खेलमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले २८.४ ओभरमा २ विकेट गुमाएर १९४ रनको योगफल तयार पारेको थियो ।

यद्यपि वर्षा बाधक बन्दा खेलमा बलियो देखिएको न्युजिल्याण्डले अंक बाँड्न बाध्य भयो । समूह ए मा न्युजिल्याण्ड र जापानसँगै श्रीलंका र डिफेन्डिङ च्याम्पियन भारत रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...