क्रिकेटको सबै प्रारुपबाट पठानको सन्यास

एजेन्सी । चर्चित भारतीय क्रिकेट टोलीका पूर्व अलराउण्डर इरफान पठानले क्रिकेटको सबै प्रारुपबाट सन्यासको घोषणा गरेका छन् । आफ्नो सत्र बर्षे क्रिकेट करियरलाई पूर्णविराम लगाएका इरफानले आफ्नो परिवारलाई विशेष धन्यवाद समेत दिएका छन् ।

शनिबार सन्यासको घोषणा गरेका ३५ बर्षे पठानले भारतीय क्रिकेटमा सौरभ गांगुली, विविएस लक्ष्मण र राहुल द्रविड जस्तो दिग्गज क्रिकेटरहरुसँग ड्रेसिङ रुम शेयर गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको समेत बताएका छन् ।

स्मरण रहोस, सन् २००७ मा भारतले आइसीसी टि–२० क्रिकेट विश्वकपको उपाधि जित्दा पठानले त्यो भारतका लागि अहम भूमिका खेलेका थिए । फाइनलमा त्यतिबेला भारतले पाकिस्तानलाई हराउँदा पठानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिएका थिए । त्यतिबेला उनी खेलको म्यान अफ द म्याच समेत चुनिएका थिए ।

भारतका लागि १२० एकदिवसीय खेल्दै १७३ विकेट लिएका पठानले १५४४ रन पनि बनाएका थिए । त्यस्तै टेष्ट क्रिकेटमा २९ म्याच खेल्दै १०० विकेट र ११०५ रन बनाएका थिए । अन्तर्राष्ट्रिय टि–२० मा भने २४ म्याच खेल्दै २८ विकेट लिनुका साथै १७२ रन पनि बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...