नागपुरमा दिपक नायक बन्दा भारतलाई सिरिज

एजेन्सी । दिपक चाहरले अन्तर्राष्ट्रिय टि–२० कै उत्कृष्ट बलिङ फिगर बनाएपछि भारतले बंगलादेशविरुद्धको टि–२० सिरिज २–१ ले जित्न सफल भएको छ । नागपुरमा सम्पन्न तेस्रो टि–२० म्याचमा दिपकले ३.२ ओभरमा ७ रन खर्चेर ६ विकेट लिएपछि भारतले बंगलादेशलाई ३० रनले हराउँदै सिरिजमाथि कब्जा नमाउन सफल भयो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रनको योगफल तयार पारेको थियो । भारतका लागि श्रेयस आयरले सर्वाधिक ६२ रन बनाए भने लोकेश राहुलले पनि ५२ रनको अर्धशतकीय पारी खेले । यी दुई ब्याट्सम्यान बाहेक मनिष पाण्डेले पनि २२ रनको नटआउट पारी खेले ।

उता जवाफी लक्ष्य पछ्याएको बंगलादेश भने दिपकको किर्तिमानी बलिङ सामूह निरीह बन्दै १९.२ ओभरमा १४४ रन बनाएर अलआउट हुन पुग्यो । बंगलादेशका लागि ओपनर युवा ब्याट्सम्यान मोहम्मद नैमले ८१ रनको पारी खेले तापनि अन्य बंगलादेशी ब्याटस्म्यानहरु जम्न नसक्दा पाहुना टोली निरीह बन्न पुग्यो ।


बलिङतर्फ भारतका लागि शिवम दुवेले पनि ३ विकेट आफ्नो नाममा लेखाए भने युजवेन्द्र चाहलले पनि १ विकेट लिए । किर्तिमानी बलिङ गरेका दिपक चाहर तेस्रो टि–२० मा म्यान अफ द म्याच र म्यान अफ द सिरिज समेत चुनिए ।

स्मरण रहोस, यसअघि दिल्लीमा सम्पन्न पहिलो टि–२० म्याचमा बंगलादेशले ७ विकेटको जित हात पारेको थियो भने राजकोटमा भएको दोस्रो टि–२० म्याचमा भारत ८ विकेटले विजयी भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...