पपुवा न्युगिनी पहिलोपटक टि–२० विश्वकपका लागि छनौट

एजेन्सी । समूह चरणको अन्तिम खेलमा केन्यालाई ४५ रनले हराउँदै पपुवा न्युगिनी आगामी बर्ष अष्ट्रेलियामा हुने आइसीसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनौट भएको छ ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले १९.३ ओभरमा सबै विकेट गुमाएर ११८ रनको सामान्य योगफल तयार पारेको थियो । यद्यवि जवाफी लक्ष्य पछ्याएको केन्या भने १८.४ ओभरमा ७३ रन बनाएर अलआउट हुन पुगेको थियो ।

आइतबार नै भएको समूह ए तर्फको अर्को खेलमा नेदरल्याण्डसले स्कटल्याण्डलाई ४ विकेटले हरायो । समूह ए तर्फ लिगचरणको खेलहरु समाप्तीसम्म ६ खेलबाट १० अंक जोडेको पपुवा न्युगिनी शिर्ष स्थानमा रहँदै सोझै टि–२० विश्वकपका लागि छनौट भयो ।

त्यस्तै समान १० अंक भए तापनि नेटरनरेटका आधारमा पछि परेको नेदरल्याण्ड्स दोस्रो स्थानमा रह्यो र प्ले अफका लागि छनौट हुन सफल भयो । समूह ए बाटै ८ र ६ अंक जोडेका नामिबिया र स्कटल्याण्ड पनि प्ले अफका लागि छनौट भए । त्यस्तै समान ४–४ अंक जोडेको केन्या र सिंगापुर तथा अंकविहीन बर्मुडा भने समूह चरणबाटै बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...