जन्मदिन मै वार्नरको ‘डेब्यु’ शतक, अष्ट्रेलियाको फराकिलो जित

एजेन्सी । श्रीलंका विरुद्ध पहिलो अन्तर्राष्ट्रिय टि२० म्याचमा डेभिड वार्नरले डेब्यु शतक पूरा गरेपछि अष्ट्रेलियाले आइतबार उत्कृष्ट जित हात पारेको छ । जन्मदिन कै अवसरमा वार्नरले शतक बनाएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १३४ रनको फराकिलो अन्तरले हराएको हो ।

अन्तर्राष्ट्रिय टि२० क्रिकेटमा अष्ट्रेलियाको यो जित रनका आधारमा अहिलेसम्म कै सबैभन्दा ठूलो जित हो भने श्रीलंकाको यो सबैभन्दा ठूलो हार समेत हो । एडिलेडमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २३३ रनको फराकिलो योगफल तयार पारेको थियो ।

अष्ट्रेलियाका लागि ओपनर वार्नरले नटआउट शतक बनाए भने अर्का ओपनर आरोन फिन्चले ६४ रन बनाए । त्यस्तै ग्लेन म्याक्स्वेल पनि ६२ रनमा नटआउट रहे ।

उता जवाफी लक्ष्य पछ्याएको श्रीलंका भने अष्ट्रेलियन बलरसामूह निरीह देखियो र २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि एडम जम्पाले ३ विकेट लिए भने मिचेल स्टार्क र पेट कुमिन्सले समान २–२ विकेट लिए । त्यस्तै एस्टन अगरले १ विकेट आफ्नो नाममा लेखाए ।

आइतबारको खेलमा शतक बनाएका वार्नर प्लेयर अफ द म्याच समेत घोषित भए । यो जितसँगै अष्ट्रेलियाले तीन म्याचको अन्तर्राष्ट्रि टि२० सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिज अन्तरगत दोस्रो टि–२० म्याच ब्रीसबेनमा बुधबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...