टेष्ट क्रिकेटमा भारतलाई ऐतिहासिक सफलता

एजेन्सी । राँचीमा भएको तेस्रो टेष्ट म्याच पारी र २०२ रनको फराकिलो अन्तरले जित्दै भारतले दक्षिण अफ्रिका विरुद्धको तीन टेष्ट म्याचको सिरिज ३–० ले ह्वाईटवाश गरेको छ । साथै यो जितसँगै भारतले दक्षिण अफ्रिका विरुद्ध टेष्ट इतिहास मै पहिलोपटक ह्वाइटवाश गर्न समेत सफल भएको छ ।

यसअघि विशाखापट्नममा भएको पहिलो टेष्ट भारतले २०३ रनले जितेको थियो भने पुणेमा भएको दोस्रो टेष्ट म्याच एक पारी र १३७ रनको भारी अन्तरले जितेको थियो । रिपोर्टअनुसार दक्षिण अफ्रिका विरुद्ध यो ऐतिहासिक उपलब्धी २७ बर्षपछि भारतले हात पारेको हो ।

यो जितपछि विश्व टेष्ट च्याम्पियनसिपमा भारतले ५० अंक बटुलेको छ । साथै भारतले आफ्नो पछिल्लो पाँच टेष्ट जितेर कुल २४० अंक समेत जोडेको छ । त्यस्तै सिरिज भरि कुल ५२९ रन बनाएका भारतका हिटम्यान रोहित शर्मा म्यान अफ द सिरिज र म्यान अफ द म्याच समेत घोषित भए ।

राँचीमा भारतको प्रदर्शन

टस जित्दै पहिलो ब्याटिङ रोजेको भारतले राँचीमा ९ विकेट गुमाएर ४९२ रन बनाउँदै पारी घोषित गरेको थियो । त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका पहिलो पारीमा १६२ रनमै अलआउट भएको थियो । त्यसपछि फ्लो अनमा दोस्रो पारी शुरु गरेको दक्षिण अफ्रिका घरेलु बलर सामूह फेरि निरीह देखियो र १३३ रनमै अलआउट हुन पुग्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...