टि–२० विश्वकप छनौट : स्कटल्याण्डमाथि सिंगापुरको सनसनी

एजेन्सी । शुक्रबारदेखि शुरु आइसीसी टि–२० विश्वकपको ग्लोबल छनौटतर्फ पहिलो खेलमै सिंगापुरले सनसनी मच्याउँदै स्कटल्याण्डमाथि २ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

दुबई स्थित आइसीसी एकेडेमी ग्राउण्डमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको थियो ।

सिंगापुरका लागि ओपनर सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अरित्र दत्ताले पनि ३२ रनको महत्वपूर्ण योगदान दिए भने मनप्रित सिंहले २६ रन बनाए ।

उता जवाफी लक्ष्य पछ्याएको स्कटल्याण्डले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो । स्कटल्याण्डका लागि ओपनरद्वय जर्ज मुन्सी र कप्तान काइल कोएजरले क्रमश ४६ र ३८ रन बनाए । त्यस्तै केलम म्याकलियोडले ४४ रन बनाए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

उता सिंगापुरका लागि किफायती बलिङ गरेका सेलाडोर बिजयकुमारले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । बिजयकुमार म्यान अफ द म्याच समेत घोषित भए । त्यस्तै अमजद महबुब र सिद्धान्त सिंहले समान २–२ विकेट हात पारे ।

त्यस्तै शुक्रबार नै भएको समूह ए तर्फको अर्को खेलमा नेदरल्याण्डसले केन्यामाथि ३४ रनको जित निकालेको छ । त्यसैगरी समूह बी तर्फको एक मात्र खेलमा आयरल्याण्डले हङकङमाथि ८ विकेटको जित हात पार्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...