क्रिकेट विश्वकप : इङल्याण्ड दुई दशकपछि फाइनलमा

एजेन्सी । डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियामाथि ८ विकेटको शानदार जितका साथ आयोजक इङल्याण्ड २७ बर्षपछि जारी आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । यसअघि इङल्याण्डले अन्तिमपटक सन् १९९२ को फाइनल खेलेको थियो । त्यतिबेला इङल्याण्डले फाइनलमा पाकिस्तानसँग २२ रनको हार बेहोरेको थियो ।

बिहीबार बर्मिङ्घममा भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले टस जित्दै पहिलो ब्याटिङ रोजेर ४९ ओभरमा २२३ रन बनाउँदै अलआउट भएको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले मामत्र सर्वाधिक ८५ रनको पारी खेलेका थिए भने एलेक्स केरीले ४६ रनको योगदान दिएका थिए ।

बलिङतर्फ इङल्याण्डका लागि क्रिस वोक्स र आदिल रशिदले समान ३–३ विकेट लिए भने जोफ्रा आर्चरले २ तथा मार्क वुडले १ विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको इङल्याण्डले भने ३२.१ ओभर खेल्दै केवल २ विकेटको क्षतिमा २२६ रन बनाएर शानदार जित हात पार्यो । घरेलु टोलीका लागि ओपनर जोसन रोयले सर्वाधिक ८५ रनको पारी खेल्दै जितको आधार तयार पारे ।

त्यस्तै जोय रुट र एवोन मोर्गनले क्रमश ४९ र ४५ रनको नटआउट पारी खेले भने अर्का ओपनर जोनी बेयरस्टोले ३४ रनको महत्वपूर्ण योगदान दिए । खेलमा ८ ओभर बलिङ गर्दै २० रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका इङल्याण्डका क्रिस वोक्स म्यान अफ द म्याच घोषित भए ।

अब इङल्याण्डले उपाधिका लागि आउँदो आइतबार गत संस्करणको उपविजेता न्युजिल्याण्डसँग फाइनल खेल्नेछ । स्मरण रहोस्, न्युजिल्याण्डले बुधबार मात्र भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...