डिफेन्डिङ च्याम्पियन चेन्नई पहिलो क्वालीफायरमा पराजित

एजेन्सी । डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) को १२औं संस्करणको पहिलो क्वालीफायरमै स्तब्धपुर्ण हार बेहोरेको छ । यद्यपि चेन्नईले १० मईका दिन एलिमिनेटरको दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबादको बिजेतासँग दोस्रोपटक खेल्ने अवसर भने पाउनेछ ।

मंगलबार चेन्नई स्थत एमए चिदम्बरम स्टेडियममा भएको खेलमा सुपर किंग्सले मुम्बई इण्डियन्ससँग ६ विकेटको हार बेहोर्यो । टस जित्दै पहिले ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३१ रनको योगफल तयार पारेको थियो ।

मुम्बईको कसिलो बलिङ सामू संघर्ष गर्न बाध्य बनेको चेन्नईका लागि अम्बाती रायुडुले सर्वाधिक ४२ रनको नटआउट पारी खेले । त्यस्तै कप्तान महेन्द्र सिंह धोनीले ३७ रनको नाबाद पारी खेले । एक समय ६५ रनको योगफलमा ४ विकेट गुमाईसकेको चेन्नईको पारी धोनी र रायुडुले उकासेका थिए ।


उता जवाफी लक्ष्य पछ्याएको मुम्बईले पनि १८.३ ओभरमा ४ विकेट गुमाउँदै १३२ रन बनाएर संघर्षपुर्ण जित हात पारेको थियो । यो जितसँगै मुम्बई फाइनलमा समेत प्रवेश गरेको छ । मुम्बईका लागि सुर्यकुमार यादवले नाबाद ७१ रन बनाउँदै जितको आधार तयार पारेका थिए । त्यस्तै इशान किशनले २८ रनको योगदान दिएका थिए ।

अब विशाखापट्टनममा बुधबार दिल्ली र हैदराबाट एलिमिनेटरमा भिड्ने छन् । बुधबार जित हात पार्ने टोलीसँग १० मईका दिन चेन्नईले सोही मैदानमा दोस्रो क्वालीफायर खेल्नेछ । जहाँ चेन्नईले जित हात पार्न सके फेरि फाइनलमा प्रवेश गर्न सक्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...