‘ह्याट्रिक’ जितका साथ अष्ट्रेलियाले जित्यो भारत विरुद्धको एकदिवसीय सिरिज

एजेन्सी । शुरुवाती दुई म्याच हार्दै खराब शुरुवात गरेको अष्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय सिरिजमाथि कब्जा जमाएको छ । दिल्लीमा भएको पाँचौं तथा निर्णायक एकदिवसीयमा अष्ट्रेलियाले भारतमाथि ३५ रनको जित दर्ता गर्दै पाँच म्याचको सिरिज ३–२ ले जित्न सफल भयो ।

फिरोज शाह कोटला स्टेडियममा टस जित्दै पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७२ रनको योगफल तयार पारेको थियो । अष्ट्रेलियाका लागि म्यान अफ द म्याच समेत घोषित उसमान खवाजाले १०० रनको शतकीय पारी खेले । पिटरह्याण्ड्सकम्बले पनि ५२ रनको महत्वपूर्ण योगदान दिए ।


बलिङतर्फ भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट लिए भने रविन्द्र जडेजा र मोहमद सामीले समान २–२ विकेट हात पारे । त्यस्तै कुलदिप यादवले एक विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको भारत भने निर्धारित ५० ओभरमा २३७ रन बनाएर अलआउट हुन पुग्यो । भारतका लागि ओपनर रोहित शर्माले सर्वाधिक ५६ रन बनाए भने भुवनेश्वर कुमारले ४६ रनको योगदान दिए । त्यस्तै केदार जाधवले पनि ४४ रन बनाए यद्यपि घरेलु टोलीलाई हारबाट जोगाउन सकेनन् ।


बलिङतर्फ अष्ट्रेलियाका लागि एडम जम्पाले सर्वाधिक ३ विकेट आफ्नो लेखाए । त्यस्तै पेट कमिन्स, झाई रिचार्डसन र मार्कस स्टोइनिसले समान २–२ विकेट लिए भने नाथन लियोनले एक विकेट हात पारे । एकदिवसीय सिरिजतर्फ अष्ट्रेलियाका लागि नायकीय पारी खेलेको उसमान खवाजा म्यान अफ द सिरिज समेत घोषित भए ।

स्मरणीय छ, पाँच म्याचको सिरिज अन्तरगत हैदराबाद र नागपुरमा भएको शुरुवाती दुइृ म्याच भारते जितेको थियो भने राँची, मोहाली र दिल्लीमा भएको एकदिवसीय म्याच ह्याट्रिक जितका साथ अष्ट्रेलियाले आफ्नो कब्जामा पारेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...