पाकिस्तानद्वारा सिरिज ‘ह्वाईट वाश’

एजेन्सी । ओपनर इमाम उल–हक र बबर आजमले शानदार शतकीय पारी खेलेपछि पाकिस्तानले जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिज ५–० ले ह्वाईट वाश गरेको छ । क्वीन्स स्पोर्टस् क्लबमा सम्पन्न पाँचौं तथा अन्तिम एकदिवसीयमा पाकिस्तानले घरेलु टोलीलाई १३१ रनले हरायो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३६४ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि ओपनर इमाम–उल–हकले ११० रनको पारी खेले । सिरिजमा यो उनको तेस्रो शतक समेत थियो । त्यस्तै बबर आजमले पनि १०६ रनको नटआउट शतकीय पारी खेले ।

त्यसैगरी शानदार लयमा रहेको अर्का ओपनर फखर जमानले ८५ रन बनाउँदै एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १००० रनको आँकडा पार गर्ने किर्तिमान आफ्नो नाममा लेखाए । जमानले यो उपलब्धी हासिल गर्न केवल १८ इनिङ खेले । यसअघि यो किर्तिमान वेस्ट इण्डिजका लिजेण्ड विभियन रिचार्डसले सन् १९८० मा बनाएका थिए । त्यतिबेला उनले २१ इनिङ खेल्दै १००० रनको आँकडा पूरा गरेका थिए ।

उता जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वेले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २३३ रन मात्र बनाउन सक्यो । घरेलु टोलीका लागि रेयान मुर्रेले सर्वाधिक ४७ रन बनाए भने पिटर मुरले नटआउट ४४ रनको योगदान दिए । त्यसैगरी प्रिन्स मसभौरेले पनि ३९ रनको योगदान दिए ।

खेलमा नटआउट १०६ रनको शतकीय पारी खेलेका बबर आजम म्यान अफ द म्याच घोषित भए । त्यसैगरी सिरिज भरि कुल ५१५ रन बनाएका पाकिस्तानै फखर जमान प्लेयर अफ द सिरिज घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...