पाकिस्तानको एकदिवसीय क्रिकेटको दोस्रो ठूलो जित

एजेन्सी । ओपनर फखर जमनले पाकिस्तानका लागि एकदिवसीय क्रिकेटमा पहिलो दोहोरो शतक बनाएपछि पाकिस्तानले जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिज अन्तरगत चौथो खेलमा फराकिलो जित हात पारेको छ ।

बुलावायोस्थित क्वीन्स स्पोर्टस् क्लबमा सम्पन्न चौथो एकदिवसीयमा पाकिस्तानले जिम्बाब्वेलाई २४४ रनको फराकिलो अन्तरले हराएको छ । एकदिवसीय क्रिकेटमा पाकिस्तानको यो दोस्रो ठूलो जित हो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा १ विकेट गुमाएर ३९९ रनको विशाल योगफल तयार पारेको थियो । यो योगफल पनि एकदिवसीय क्रिकेटमा पाकिस्तानको सबैभन्दा ठूलो योगफल समेत थियो ।

पाकिस्तानका लागि ओपनर फखर जमनले २१० रनको नटआउट दोहोरो शतक बनाए । जमन एकदिवसीय क्रिकेटमा पाकिस्तानका लागि दोहोरो शतक बनाउने पहिलो खेलाडी समेत बने । त्यस्तै अर्का ओपनर इमाम उल–हकले पनि ११३ रनको शतकीय पारी खेलेका थिए ।

जमन र उल–हकले पहिलो विकेटका लागि ३०४ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय क्रिकेटमा अहिलेसम्म कै उच्च ओपनिङ साझेदारी समेत हो । त्यस्तै पाकिस्तानका लागि अर्का ब्याट्सम्यान असिफ अलीले पनि ५० रनको नटआउट पारी खेले ।

उता जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वे भने ४२.४ ओभर खेल्दै १५५ रनमा अलआउट हुन पुगेको थियो । घरेलु टोलीका लागि डोनाल्ड टिरीपानोले सर्वाधिक ४० रनको योगदान दिए भने इल्टन चिगुमबुराले ३७ रनको योगदान दिए ।

बलिङतर्फ पाकिस्तानका लागि सदाब खानले ४ विकेट लिदाँ उसमन खान र फहिम अशरफले २–२ विकेट हात पारे । त्यस्तै जुनैद खान र शोहेब मलिकले एक–एक विकेट लिए । खेलमा किर्तिमानी दोहोरो शतक बनाएका फखर जमन खेलको म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै पाँच म्याचको श्रृंखलामा पाकिस्तान ४–० ले अगाडी छ र सिरिजमाथि यसअघि नै कब्जा जमाईसकेको छ । सिरिज अन्तरगत पाँचौं तथा अन्तिम एकदिवसीय म्याच आइतबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...