रुटको किर्तिमानी शतकसँगै इङल्याण्डलाई सिरिज

एजेन्सी । जोय रुटले किर्तिमानी शानदार नटआउट शतकीय पारी खेलेपछि भारतविरुद्धको तेस्रो तथा निर्णायक एकदिवसीयमा इङल्याण्डले ८ विकेटको जित हात पार्दै सिरिजमाथि कब्जा जमाएको छ । लिड्समा सम्पन्न तेस्रो एकदिवसीयमा घरेलु टोली ब्याटिङ र बलिङ दुवैमा खरो उत्रियो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको इङल्याण्डले भारतलाई निर्धारित ५० ओभरमा २५६ रन मात्र बनाउन दियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७१ रन बनाए । त्यस्तै ओपनर शिखर धवनले ४४ रन बनाउँदा महेन्द्र सिंह धोनीले ४२ रनको योगदान दिए ।

बलिङतर्फ अदिल रशिद र डेविड विल्लीले समान ३–३ विकेट लिए भने मार्क वुडले १ विकेट आफ्नो नाममा लेखाए । उता जवाफी ब्याटिङमा उत्रिएको इङल्याण्डले ४४.३ ओभर खेल्दै आफ्नो दुई विकेटको क्षतिमा २६० रन बनाउँदै जित हात पार्यो ।

इङल्याण्डका लागि जोय रुटले नटआउट १०० रनको शतकीय पारी खेले । एकदिवसीय क्रिकेटमा यो उनको १३ औं शतक थियो । साथै यो शतकसँगै रुट एकदिवसीय क्रिकेटमा इङल्याण्डका लागि सर्वाधिक शतक बनाउने खेलाडी समेत बने । त्यस्तै कप्तान इवोन मोर्गनले पनि ८८ रनको नटआउट पारी खेले भने ओपनरद्वय जोनी बेयरस्टो र जेम्स भिन्सले क्रमशः ३० र २७ रनको योगदान दिए ।

यो जितसँगै तीन म्याचको सिरिज इङल्याण्डले २–१ ले जित्न सफल भयो । अन्तिम एकदिवसीयमा प्रभावशाली बलिङ गरेका इङल्याण्डका अदिल रशिद म्यान अफ द म्याच घोषित भए । त्यसैगरी सिरिज भरी कुल २१६ रन बनाए इङल्याण्डकै जोय रुट म्यान अफ द सिरिज घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...