पाकिस्तानको शानदार जितको यात्रा जारी

एजेन्सी । ओपनर फखर जमनले शानदार नटआउट शतकीय पारी खेलेपछि जिम्बाब्वे भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टोलीले दोस्रो एकदिवसीयमा पनि घरेलु टोलीमाथि शानदार जित दर्ता गरेको छ । क्वीन्स स्पोर्टस् क्लब, बुलावायोमा सम्पन्न खेलमा पाकिस्तानले जिम्बाब्वेलाई ९ विकेटले हरायो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको जिम्बाब्वे ४९.२ ओभर खेल्दै १९४ रनमा अलआउट हुन पुग्यो । घरेलु टोलीका लागि कप्तान हेमिल्टन मासाकड्जाले सर्वाधिक ५९ रनको योगदान दिए भने पिटर मुरले पनि ५० रनको अर्धशतकीय पारी खेले । यद्यपि अन्य ब्याट्सम्यान भने पाकिस्तानी बलर सामू टिक्न सकेनन् ।

बलिङतर्फ पाकिस्तानका लागि उसमन खानले सर्वाधिक ४ विकेट लिए भने हसन अलीले ३ विकेट आफ्नो नाममा लेखाए । त्यस्तै शोहेब मलिकले एक विकेट लिए ।

उता जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ३६ ओभर खेल्दै एक विकेटको क्षतिमा १९५ रन बनाएर शानदार जित हात पार्यो । पाकिस्तानका लागि ओपनर फखर जमनले नटआउट ११७ रनको पारी खेले । जमनको यो एकदिवसीयमा दोस्रो शतक समेत थियो । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

पाकिस्तानका लागि अर्का ओपनर इमाम उल–हकले पनि ४४ रनको योगदान दिए भने बबर आजम २९ रनमा अविजित रहे । यो जितसँगै पाकिस्तानले पाँच म्याचको एकदिवसीय सिरिजमा २–० को अग्रता बनाएको छ । सिरिज अन्तर्गत तेस्रो एकदिवसीय बुधबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...