भारतलाई हराउँदै सिरिजमा फर्कियो इङल्याण्ड

शतक बनाएपछि इङल्याण्डका जोय रुट ।

एजेन्सी । भारत विरुद्ध अलराउण्ड प्रदशैन गरेपछि इङल्याण्डले दोस्रो एकदिवसीयमा पाहुना टोलीलाई ८६ रनले हराउँदै तीन म्याचको एकदिवसीय सिरिज १–१ को बराबरीमा ल्याएको छ । लर्डस्मा सम्पन्न उक्त खेलमा इङल्याण्डले ब्याटिङ र बलिङ दुवैमा सशक्त प्रदर्शन गर्यो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको इङल्याण्डले जोय रुटको ११३ रनको शतकीय पारीको सहयोगमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२२ रनको योगफल तयार पारेको थियो । एकदिवसीयमा रुटको यो १२ औं शतक थियो । त्यस्तै घरेलु टोलीका लागि कप्तान इवोन मोर्गनले पनि ५३ रनको योगदान दिए । त्यस्तै ओपनरद्वय जेसन रोय र जोनी बेयरस्टोले क्रमशः ४० र ३८ रन बनाए ।

बलिङतर्फ भारतका लागि कुलदिप यादवले ३ विकेटले लिए भने युजवेन्द्र चाहल, हार्दिक पाण्डया र उमेश यादवले समान एक–एक विकेट हात पारे ।

उता जवाफी ब्याटिङमा उत्रिएको भारत भने २३६ रनमा अलआउट हुन पुग्यो । भारतका लागि सुरेश रैनाले सर्वाधिक ४६ रन बनाए भने कप्तान विराट कोहलीले ४५ रनको योगदान दिए । त्यस्तै महेन्द्र सिंह धोनीले ३७ रन बनाउँदै एकदिवसीयमा दश हजार रन पूरा गरे । त्यसैगरी ओपनर शिखर धवनले पनि ३६ रनका पारी खेले ।

उता बलिङतर्फ इङल्याण्डका लागि लियाम प्लुन्केट एक्लैले ४ विकेट लिए भने आदिल रशिद र डेविड विल्लीले २–२ विकेट लिए । त्यस्तै मार्क वुड र मोइन अलीले १–१ विकेट आफ्नो नाममा लेखाए । खेलमा शतकीय पारी खेलेका इङल्याण्डका जोय रुट म्यान अफ द म्याच घोषित भए । अब सिरिज अन्तरगत तेस्रो तथा निर्णायक म्याच मंगलबार लिड्समा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...