उल–हकको शतकसँगै पाकिस्तान फराकिलो अन्तरले बिजयी

एजेन्सी । जिम्बाब्वे भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टोलीले एकदिवसीय सिरिज अन्तरगत शुक्रबार सम्पन्न पहिलो एकदिवसीयमा फराकिलो जित हात पारेको छ । क्वीन्स स्पोर्ट्स क्लब, बुलावायोमा सम्पन्न खेलमा पाकिस्तानले घरेलु टोली जिम्बाब्वेलाई २०१ रनको फराकिलो अन्तरले हरायो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ओपनर इमाम उल–हकको १२८ रनको शानदार शतकीय पारीको सहयोगमा ७ विकेट गुमाएर ३०८ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि अर्का ओपनर फखर जमनले ६० रनको पारी खेले भने असिफ अलीले ४६ रनको योगदान दिए ।

उता जवाफी ब्याटिङका लागि उत्रिएको जिम्बाब्वे भने ३५ ओभर खेल्दै १०७ रनमा अलआउट हुन पुगेको थियो । जिम्बाब्वेका लागि र्यान मुर्रेले सर्वाधिक ३२ रनको नटआउट पारी खेले । त्यस्तै टरिसाई मुसाकन्डाले २१ रनको योगदान दिए भने अर्का ओपनर चमु चिभाभाले २० रनको योगदान दिए ।

बलिङतर्फ पनि खरो उत्रिएको पाकिस्तानका लागि शदाब खानले ४ विकेट लिए । त्यस्तै उसमन खान र फहिम अशरफले २–२ हात पारे भने मोहम्मद आमीर र हसन अलीले १–१ विकेट लिए । खेलमा शानदार शतकीय पारी खेलेका पाकिस्तानका इमाम उल–हक म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै पाकिस्तानले पाँच म्याचको एकदिवसीय सिरिजमा १–० को अग्रता कायम गरेको छ । सिरिज अन्तर्गत दोस्रो एकदिवसीय सोमबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...