पहिलो एकदिवसीयमा भारतको रवाफिलो जित

एजेन्सी । रोहित शर्माले करिअरको अठारौं शतक प्रहार गरेपछि भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजतर्फ पहिलो म्याचमा घरेलु टोलीलाई ८ विकेटले हराएको छ ।

टेन्ट ब्रीज, नटिङ्घममा टस जित्दै पहिले फिल्डिङ्ग रोजेको भारतले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेपछि इङल्याण्ड ४९.५ ओभरमा २६८ रन बनाएर अलआउट हुन पुगेको थियो । इङल्याण्डका लागि बेन स्कोक्सले सर्वाधिक ५० रन बनाए भने ओपनरद्वय जेसन रोय र जोनी बेयरस्टोले समान ३८–३८ रनको योगदान दिए ।

उता बलिङतर्फ भारतका लागि कुलदिप यादवले १० ओभरमा २५ रन खर्चदै करियर कै उत्कृष्ट ६ विकेट हात पारे । कुलदिप खेलको म्यान अफ द म्याच समेत घोषित भए । त्यस्तै उमेश यादवले २ विकेट लिए भने युजवेन्द्र चाहलले १ विकेट हात पारे ।


उता जवाफी ब्याटिङमा उत्रिएको भारतले भने ओपनर रोहित शर्माको १३७ रनको नटआउट पारीको सहयोगमा ४०.१ ओभरमा २ विकेट गुमाउँदै २६९ रन बनाएर जित हात पारेको थियो । त्यस्तै कप्तान विराट कोहलीले पनि ७५ रनको अहम पारी खेले भने अर्का ओपनर शिखर धवनले ४० रन बनाए ।

यो जितसँगै तीन म्याचको एकदिवसीय सिरिजमा भारतले १–० को अग्रता बनाएको छ । अब सिरिज अन्तर्गत दोस्रो एकदिवसीय म्याच शनिबार लर्डस्मा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...