दक्षिण अफ्रिकाद्वारा सिरिज ‘क्लिन स्वीप’

बंगलादेशविरुद्ध विकेट लिएपछि दक्षिण अफ्रिकाका खेलाडीहरु । (तस्विर आइसीसी)

एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज शानदार जितका साथ ३–० ले क्लिन स्वीप गरेको छ ।

इष्ट लण्डनमा सम्पन्न तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेशलाई २०० रनको फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिकाले सिरिजमाथि क्लिन स्वीप गरेको हो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६९ रनको विशाल योगफल तयार पारेको थियो ।

घरेलु टोलीका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९१ रन बनाए र उनी म्यान अफ दि म्याच समेत घोषित भए । त्यस्तै ओपनर क्वीन्टन डि ककले आक्रमक ७३ रनको पारी खेले भने एडन मरक्रमले ६६ रनको योगदान दिए ।

उता जवाफी ब्याटिङमा उत्रिएको भं्रमणकारी टोली बंगलादेश भने ४०.४ ओभर खेल्दै १६९ रनमा अलआउट हुन पुगेको थियो । उसका लागि शाकिव अल हसनले ६३ रनको योगदान दिए भने शाबिर रहमानले ३९ रन बनाए ।

पहिलो एकदिवसीयमा १०४ रनको जित हात पारेको दक्षिण अफ्रिकाले दोस्रो एकदिवसीयमा पनि १० विकेटको शानदार जित दर्ता गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...