दक्षिण अफ्रिकाद्वारा सिरिजमाथि कब्जा

बंगलादेशविरुद्ध शतक प्रहार गरेपछि डि विलियर्स (बीचमा) । (तस्विर आइसीसी)

एजेन्सी । एवी डि विलियर्सले क्यारियरकै व्यक्तिगत सर्वाधिक उच्च रन बनाएपछि दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको एकदिवसीय सिरिजमाथि कब्जा जमाएको छ ।

बोलण्ड पार्कमा भएको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १०४ रनको फराकिलो अन्तरले हराउँदै सिरिजमाथि कब्जा जमाउन सफल भएको हो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली दक्षिण अफ्रिकाले डि विलियर्सको १७६ रनका आक्रमक शतकीय पारीको सहयोगमा ३५३ रनको विशाल योगफल तयार पारेको थियो । त्यस्तै घरेलु टोलीका लागि ओपनर हसिम अमलाले पनि ८५ रनको व्यक्तिगत पारी खेले ।

उता ३५४ रनको लक्ष्य पछ्याएको पाहुना टोली बंगलादेश भने २४९ रनमा अलआउट हुन पुगेको थियो । बंगलादेशका लागि इमरुल कायस र मुशफिकर रहिमले क्रमश ६८ र ६० रनको योगदान दिनुबाहेक अन्य कुनै बंगलादेशी ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।

खेलमा शानदार शतकीय पारी खेलेका डि विलियर्स प्लेयर अफ दि म्याच घोषित भए । जितसँगै दक्षिण अफ्रिकाले तीन म्याचको श्रृखंला २–० ले जितेको छ । सिरिज अन्तरगत अन्तिम तथा तेस्रो एकदिवसीय म्याच आइतबार इस्ट लण्डनमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...