पहिलो एकदिवसीयमा दक्षिण अफ्रिकाको किर्तिमानी जित

किर्तिमानी साझेदारी गरेका डि कक (बाँया) तथा अमला (दाँया) जित हात पारेपछि । (तस्विर आइसीसी)

एजेन्सी । बंगलादेशविरुद्धको पहिलो एकदिवसीयमा दक्षिण अफ्रिकाले एकदिवसीय क्रिकेटमै दुर्लभ किर्तिमान बनाउँदै शानदार जित हात पारेको छ ।

किम्बर्लीमा सम्पन्न पहिलो एकदिवसीयमा दक्षिण अफ्रिकाले बिना कुनै विकेटको क्षतिमा सर्वाधिक रनको लक्ष्य पछ्याउँदै जित हात पार्ने टोलीको किर्तिमान बनाउन सफल भएको छ ।

साथै दक्षिण अफ्रिकाले एकदिवसीयमा तेस्रो सर्वाधिक ठूलो ओपनिङ साझेदारीको किर्तिमान पनि आफ्ना नाममा लेखाउन सफल भएको छ ।

टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको दक्षिण अफ्रिकाले पाहुना टोली बंगलादेशलाई २७८ रनमा अलआउट गरेको थियो ।

बंगलादेशका लागि मुशफिकर रहिमले ११० रनको नटआउट शतकीय पारी खेले तापनि टोलीको किर्तिमानी पराजयलाई टार्न सकेनन् ।

उता जवाफी लक्ष्यका साथ मैदानमा उत्रिएको दक्षिण अफ्रिकाले भने बिना कुनै विकेटको क्षतिमा २८२ रन बनाउँदै किर्तिमानी जित हात पार्न सफल भएको थियो ।

दक्षिण अफ्रिकाका लागि ओपनरद्वय क्विन्टन डि कक र हसिम अमलाले क्रमश १६८ र ११० रनको नटआउट शतकीय पारी खेले । खेलमा डि कक म्यान अफ दि म्याच घोषित भए ।

यो पार्टनरशीप एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाको सर्वाधिक ठूलो साझेदारी समेत थियो । यसअघि सन् २०१५ मा जेपी ड्युमिनी र डेविड मिलरले जिम्बाब्वेविरुद्ध २५६ रनको साझेदारी गरेका थिए ।

जितसँगै ३ म्याचको एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता लिन समेत सफल भएको छ । सिरिज अन्तरगत दोस्रो एकदिवसीय म्याच बुधबार पार्लमा हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...