पपुवा न्युगिनीले क्रिकेट विश्वकप छनौट खेल्ने पक्का

एजेन्सी । पपुवा न्यूगिनीले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आठौं जित हात पार्दै आगामी वर्ष हुने आइसीसी क्रिकेट विश्वकपको छनौट खेल्ने पक्का गरेको छ ।

घरेलु मैदान पोर्ट मोरेस्बीमा भएको खेलमा स्कटल्याण्डविरुद्ध ५ विकेटको जित हात पार्दै पपुवा न्युगिनीले विश्वकप छनौटमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको पपुवा न्युगिनीले स्कटल्याण्डलाई २०३ रनमा अलआउट गरेको थियो । स्कटल्याण्डका लागि ओपनर म्याथ्यु क्रसले सर्वाधिक ९१ रनको योगदान दिए ।

उता जवाफी लक्ष्यका साथ उत्रिएको पपुवा न्युगिनीले आफ्नो ५ विकेट गुमाउँदै २०४ रन बनाएर जित हासिल गर्न सफल भएको थियो ।

पपुवा न्युगिनीको जितमा मध्यक्रमका ब्याट्सम्यान महुरु दाइले नटआउट ६३ रनको महत्वपूर्ण पारी खेले । त्यस्तै कप्तान असद भालाले ४९ रन बनाए ।

जितसँगै पपुवा न्युगिनी १२ खेलबाट १६ अंक जोड्दै लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १८ अंक जोडेको नेदरल्याण्ड शिर्ष स्थानमा छ । नेदरल्याण्डले यसअघि नै विश्वकप छनौटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

उता नामिबिया र युएई सातौं र आठौं स्थानमा रहँदै डिभिजन टु मा घटुवा भईसकेका छन् । त्यस्तै १५ र १२ अंकका साथ स्कटल्याण्ड र केन्या तेस्रो र चौथो स्थानमा छन् भने १०–१० खेल खेलेको हङकङ र नेपाल ११ र ८ अंकका साथ क्रमश पाँचौं र छैठौं स्थानमा छन् ।

लिग च्याम्पियनसिप अन्तरगत नेपालले हङकङसँग उसकै घरेलु मैदानमा आउँदो अक्टुबर १३ र १५ तारीखका दिन खेल्दैछ । विश्वकप छनौट  खेल्ने आफ्नो सम्भावनालाई कायम राख्न नेपालका लागि हङकङविरुद्धको खेल महत्वपूर्ण छ ।


प्रतिक्रिया दिनुहोस

Loading...