भारतको विजयी यात्रामा पूर्णविराम

भारतविरुद्ध शतक प्रहार गरेपछि अष्ट्रेलियाका डेविड वार्नर ।

एजेन्सी । भारत भ्रमणमा रहेको अष्ट्रेलियाले चौथो एकदिवसीयमा जित हात पार्दै भारतको अपराजित यात्रामा बिहीबार पूर्णविराम लगाएको छ ।

घरेलु टोलीको अपराजित यात्रामा पूर्णविराम लगाउने क्रममा अष्ट्रेलियाले चौथो एकदिवसीयमा भारतलाई २१ रनले पराजित गरेको छ ।

बैंगलुरुमा टस जित्दै पहिलो ब्याटिङ रोजेको अष्ट्रेलियाले ओपनर डेविड वार्नरको १२४ रनको शानदार शतकीय पारीको सहयोगमा ३३४ रन बनाउन सफल भएको थियो । अष्ट्रेलियाको इनिङमा अर्का आपनर आरोन फिन्चले पनि ९४ रनको योगदान दिए ।

बलिङतर्फ भारतका उमेश यादवले ४ विकेट लिए भने केदार जाधवले १ विकेट आफ्नो नाममा लेखाए ।

त्यस्तै ३३५ रनको लक्ष्य पछ्याएको भारतले भने निर्धारित ५० ओभरमा ३१३ रन मात्र बनाउन सक्यो । भारतका लागि ओपनरद्वय रोहित शर्मा र अजिन्क्य रहाणेले क्रमश ६५ र ५३ रनको योगदान दिए । त्यस्तै केदार जाधवले ६७ रनको योगदान दिए भने हार्दिक पाण्डयाले ४१ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका लागि केन रिचार्डसनले ३ विकेट लिए । त्यसैगरी नाथन काउल्टर निलले २ विकेट लिए भने पेट कुमिन्स र एडम जम्पाले १–१ विकेट हात पारे ।

खेलमा शानदार शतकीय पारी खेलेका अष्ट्रेलियाका डेविड वार्नर म्यान अफ दि म्याच घोषित भए । पराजयका बावजुद पाँच म्याचको श्रृंखलामा भारत ३–१ ले अगाडी छ । सिरिज अन्तरगत पाचौं तथा अन्तिम एकदिवसीय आइतबार नागपुरमा हुनेछ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...