टोक्यो ओलम्पिकमा मानवताको मेडलः एकै इभेन्टमा दुई खेलाडीले पाए स्वर्ण पदक (फोटो फिचर)

एजेन्सी । आधुनिक खेलकुद जगतमा कुनै पनि खेलाडीको प्रतिष्ठित ओलम्पिकमा स्वर्णपदक जित्ने एउटा विशेष सपना हुन्छ । ओलम्पिकमा स्वर्ण जित्नु नै सबैभन्दा उच्च पदक पनि हो । यद्यपि जारी टोक्यो ओलम्पिकमा कतारका ट्रयाक एण्ड फिल्डका खेलाडी मुताज एस्सा बारशिम भने यो उपलब्धी भन्दा पनि एक कदम अगाडी निस्किएका छन् ।

३० बर्षिय बारशिमले टोक्यो ओलम्पिकमा स्वर्ण पदकसँगै मानवताको मेडल र संसार कै खेलप्रेमीहरुको मन जित्न समेत सफल भएका छन् । बारशिमले स्वर्ण पदकका लागि भएको फाइनल स्पर्धामा चोटिल बन्न पुगेका आफ्ना प्रतिद्वन्द्वी इटालीका जियानमार्को ताम्बेरीलाई पनि स्वर्ण पदक दिलाएका छन् ।

एकै इभेन्टमा दुई खेलाडीलाई स्वर्ण कसरी सम्भव भयो त ? यो दुर्लभ र अविष्मरणीय क्षण जारी टोक्यो ओलम्पिकको पुरुष हाइ जम्प स्पर्धातर्फ भएको हो । सो फाइनल स्पर्धामा बारशिम र ताम्बेरी दुवैले २.३७ मिटरको उचाई पार गरेका थिए ।

त्यसपछि इभेन्ट अफिसियलले दुवै खेलाडीलाई तीन–तीनपल्ट फेरि जम्प गर्न आदेश दिएका थिए । यद्यपि यी दुवै खेलाडीले २.३७ मिटर भन्दा माथि जम्प गर्न सकेनन् । तीन–तीन एक्स्ट्रा जम्पबाट पनि विजेताको निष्कर्ष ननिस्किएपछि इभेन्ट अफिसियलले दुवै खेलाडीलाई थप एक–एक पटक जम्प गर्न आदेश दिए ।

तर त्यतिबेला इटालीका ताम्बेरी चोटिल बन्न पुगेका थिए । खुट्टाको चोटका कारण ताम्बेरीले इभेन्टबाट नाम फिर्ता लिए । ताम्बेरीले नाम फिर्ता लिएपछि कतारका बारशिमलाई स्वर्ण जित्ने एकल अवसर जुर्यो । उनले एक राम्रो उचाईंमा जम्प गर्न सके स्वर्ण पदक उनको नाममा हुने पक्का थियो ।

तर बारशिमले सबैलाई आश्चर्यमा पार्दै इभेन्ट अफिसियलसँग ‘आफूले पनि नाम फिर्ता लिए, के हुने’ भन्ने प्रश्न सोधे । त्यसपछि अफिसियलले नियम पुस्तिका हेरेर बारशिमले पनि नाम फिर्ता लिए दुवै खेलाडीले स्वर्ण पदक पाउने कुरा बताए ।

अफिसियलले त्यसो भनेसँगै बारशिमले पनि अन्तिम जम्पबाट आफ्नो नाम फिर्ता लिए । बारशिमको त्यो निर्णयसँगै चोटिल बनेका ताम्बेरीले पनि स्वर्ण पदक जित्न सफल भए ।

टोक्यो ओलम्पिकमा यो अविस्मरणीय र ऐतिहासिक निर्णय लिएका बारशिमले खेलमा जित्नु नै सबै थोक नरहेको बताए । बारशिम भन्छन्, “हामीले आउने पिंढीलाई खेल कसरी खेल्नुपर्छ भनेर सन्देश दिएका छौं । आफ्ना प्रतिद्वन्द्वीलाई कसरी सम्मान गर्ने र उनीहरु सफलताको हकदार भए त्यो खुशीयाली मिलेर कसरी मनाउने भन्नेबारे हामीले सन्देश दिएका छौं ।”

बारशिमको यो निर्णयपछि ताम्बेरीले उनलाई अँगालेर खुशी साटेका थिए । बारशिमको अविस्मरणीय र दुर्लभ निर्णयले विश्वभरि चर्चा पाइरहेको छ । साथै बारशिमको चौतर्फी प्रशंसा समेत भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...