टोक्यो ओलम्पिक पनि स्थगित

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण यसै बर्ष जापानमा हुने भनिएको टोक्यो ओलम्पिक तथा पाराओलम्पिक गेम्स स्थगित गरिएको छ । स्मरण रहोस, जापानको राजधानी टोक्योमा आउँदो जुलाई २४ तारीखदेखि विश्व खेलकुदको महामेला शुरु हुने कार्यक्रम थियो ।

तर चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिएपछि यसले सबै खेलकुदलाई समेत नराम्ररी असर पुर्याएको थियो । कोरोना कै कारण क्यानडाले टोक्यो ओलम्पिकमा सहभागिता नजनाउने भन्दै नाम फिर्ता लिएको थियो भने अन्य राष्ट्रहरु पनि भाइरस कै सन्त्रासका कारण सहभागिता जनाउन इच्छुक देखिएका थिएनन् ।

अब यो ओलम्पिक आगामी बर्ष अर्थात सन् २०२१ को समरमा हुनेछ । यद्यपि आगामी बर्ष भए तापनि ओलम्पिकको नाम भने टोक्या ओलम्पिक २०२० नै हुने बताइएको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आबेका अनुसार उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को बैठकमा यसै बर्ष आफ्नो देशमा हुने ओलम्पिक र पारा ओलम्पिक कोरोनाका कारण स्थगन गर्न प्रस्ताव गरेको र त्यो प्रस्तावमा आइओसीका अध्यक्ष थोमस बाचले शतप्रति सहमति जनाएको बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...