जितसँगै विदा हुन चाहन्छन् बोल्ट

(तस्विर एजेन्सी)

एजेन्सी । विश्वचर्चित किर्तिमानी जमैकन धावक उसेन बोल्ट यसै साता लण्डनमा हुन गईरहेको आइएएएफ विश्व च्याम्पियनसिपमा सहभागिता जनाउँदै छन् । प्रतियोगिताअन्तरगत ट्रयाकमा उत्रिदा उनको ध्यान किर्तिमानी स्वर्णपदक जित्दै खेलजिवनबाट विदा लिनेतर्फ हुनेछ ।

सन् २००८ मा सम्पन्न बेईजिङ ओलम्पिकमा एक्लै दुई स्वर्ण जितेका बोल्टले त्यसपछि उनले विश्व ट्रयाकमा आफ्नो दबदबा कायम राखेका छन् । तत्पश्चात् यी ३० वर्षिय तेज धावकले ८ ओलम्पिक स्वर्ण र ११ विश्व च्याम्पियनसिप जितिसकेका छन् ।

सन् २००९ मा बर्लिनमा भएको विश्व च्याम्पियनसिपतर्फ १०० र २०० मिटरको उपाधि उनले क्रमशः ९.५८ र १९.१९ सेकेण्डमा पूरा गर्दै जितेका थिए ।

त्यस्तै सन् २०११, २०१३ र २०१५ मा १००, २०० र चार गुणा १०० रिले स्पर्धातर्फ उपाधि जित्न सफल भएका थिए ।
बोल्टले सन् २०१२ को लण्डन र सन् २०१६ को रियो ओलम्पिकमा तीनै स्पर्धामा किर्तिमानी स्वर्ण जितेका थिए ।

उनले हालै मोनाकोमा एक कार्यक्रमका बीच भनेका थिए “मेरो अबको लक्ष्य लण्डनमा जित हात पार्नु हुनेछ र जितसँगै खेलजीवनबाट विदा हुन चाहन्छु ।”

यहि आउँदो शुक्रबार (अगस्त ४ तारीख) बाट शुरु हुन गईरहेको विश्व च्याम्पियनसिप एथलेटिक्समा दुनियाको नजर बोल्टमाथि हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...