एजेन्सी । बृटिश स्टार एन्डी मुर्रेले बर्षको पहिलो ग्राण्डस्लामका रुपमा रहेको अष्ट्रेलियन ओपन खेल्नेमा अनिश्चितता छाएको छ । मुर्रे अष्ट्रेलियन ओपनका लागि चार्टड फ्लाईटमा मेलबर्न जाने तयारीमा थिए ।
तर कोरोना भाइरस संक्रमण भएपछि यी स्कटिस स्टारले अब लण्डन मै घरेलु क्वारेन्टिन र आइसोलेसमा बस्नुपर्नेछ । अष्ट्रेलियन ओपनका लागि फिट रहेको बताउने मुर्रे मेलबर्न कोर्टमा उत्रिन भने आत्तुर छन् ।
पाँच पटकका अष्ट्रेलियन ओपन उपविजेता समेत रहेका मुर्रेले गत साता फ्लोरिडामा भएको एटिपी इभेन्टबाट आफ्नो नाम फिर्ता लिएका थिए । उनले अष्ट्रेलियन ओपन कै लागि आफूलाई फिट राख्न नाम फिर्ता लिएको हुन सक्ने अनुमान गरिएको छ ।
स्मरण रहोस, यस बर्षको प्रतिष्ठित अष्ट्रेलियन ओपन आउँदो फेब्रुअरी ८ तारीखदेखि मेलबर्न पार्कमा शुरु हुँदैछ । जुन कोभिड–१९ महामारीकै कारण पहिलाको निर्धारित मिति भन्दा तीन साता ढिलो समेत हो ।