फेडररले २०२१ को पहिलो ग्राण्डस्लाम नखेल्ने निश्चित

एजेन्सी । विश्व वरियता नम्बर ५ का स्वीस स्टार रोजर फेडररले बर्ष २०२१ को पहिलो ग्राण्डस्लाम प्रतिष्ठित अष्ट्रेलियन ओपन नखेल्ने निश्चित भएको छ । सन् २००० मा अष्ट्रेलियन ओपनमा डेब्यु गरेका ३९ बर्षिय फेडरर हाल घुँडाको दुई शल्यक्रिया पश्चात् स्वास्थ्य लाभ लिइरहेका छन् ।

रिपोर्टअनुसार फेडरर २१ बर्षपछि पहिलोपटक अष्ट्रेलियन ओपनमा नखेल्ने तय भएको हो । फेडररले आफ्ना प्रशिक्षक तथा फिजियोसँग सल्लाह गरेर नै अष्ट्रेलियन ओपन नखेल्ने पुष्टी भएको हो । यद्यपि उनी अष्ट्रेलियन ओपनपछि टेनिस कोर्टमा फर्किने बताइएको छ ।

२० पल्टका ग्राण्डस्लाम विजेता फेडररले हाल युएईमा हलुका अभ्यास गरिरहेको समेत बताईएको छ । स्मरणीय छ, आगामी फेब्रुअरीदेखि शुरु हुन गईरहेको अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने खेलाडीहरुको नामावलीमा फेडररको नाम पनि सामेल थियो ।

नामावलीमा फेडररसँगै नोभाक जोकोभिच, राफेल नाडाल, सेरेना विलियम्स, नाओमी ओसाका जस्ता स्टार खेलाडीहरुको नाम समावेश गरिएको थियो । फेडरर एक बर्ष यता टेनिस कोर्टमा फर्किएका छैनन् । उनले अन्तिमपटक गत बर्ष अष्ट्रेलियन ओपन कै सेमिफाइनलतर्फ मेलबर्न पार्कमा नोभाक जोकोभिच विरुद्ध अन्तिमपटक खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...