फेडररको आगामी बर्ष पहिलो ग्राण्डस्लाम खेल्ने अनिश्चित

एजेन्सी । विश्व नम्बर ५ स्वीस स्टार रोजर फेडररले आगामी बर्ष (२०२१) को पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने अनिश्चित भएको छ । हाल घुंडाको दुईपल्ट शल्यक्रिया गरेर आराम गरिरहेका फेडररले कोर्टमा फर्किन लामो समय लाग्ने बताएका छन् ।

स्मरण रहोस, ३९ बर्षिय फेडरर लगभग एक बर्ष यता कोर्टमा फर्किएका छैनन् । उनले अन्तिमपटक २०२० को जनवरीमा अष्ट्रेलियन ओपनतर्फ नोभाक जोकोभिच विरुद्ध मेलबर्न पार्कमा सेमिफाइनल म्याच खेलेका थिए ।

फेडररका अनुसार उनले यसै बर्षको अक्टुबरमा खेलमा फर्किन सक्ने विश्वास लिएका थिए । उनको घुंडाको दोस्रो शल्यक्रिया भएपछि त्यो कठिन भइदिएको थियो । यद्यपि उनले आफ्नो फिटनेसमा पछिल्लो ६ महिना यता सुधार आइरहेको बताएका छन् । चिकित्सकसँग नियमित परामर्श गरिरहेका फेडररले सकेसम्म आगामी बर्षको अष्ट्रेलियन ओपन खेल्ने योजनामा पनि छन् ।

फेब्रुअरीको शुरुवातमा हुन सक्छ अष्ट्रेलियन ओपन

उता अष्ट्रेलियन ओपन निर्धारित मिति मै हुनेमा पनि आशंका गरिएको छ । प्रतियोगिता आउँदो बर्षको १८ देखि ३१ जनबरीसम्म हुने तय भएको थियो । तर हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोेरोना भाइरसका कारण प्रतियोगिताको आयोजना मिति पर सर्न सक्ने अनुमान गरिएको छ ।

अष्ट्रेलियन सञ्चारमाध्यमहरुका अनुसार आगामी बर्षको अष्ट्रेलियन ओपन ८ फेब्रुअरीदेखि हुन सक्ने बताइएको छ । त्यसो भयो भने फेडररले पनि आफ्नो सो प्रतियोगितामा खेल्ने सम्भावना रहने बताएका छन् । उनी भन्छन्, “यदि अष्ट्रेलियन ओपन ८ फेब्रुअरीदेखि शुरु भयो भने मलाई फिट हुन केही समय पुग्नेछ र त्यसले मलाई फाईदा पनि गर्नेछ ।”


प्रतिक्रिया दिनुहोस

Loading...