जोकोभिचलाई १८औं ग्राण्डस्लाम जित्ने मौका

एजेन्सी । सर्बियाका विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले यसै महिनाको अन्तिमदेखि शुरु हुन गईरहेको प्रतिष्ठित युएस ओपन खेल्ने पक्का भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण नराम्रोसँग प्रभावित अमेरिकी शहर न्युयोर्कमा प्रतियोगिता यहि अगस्त ३१ तारीखदेखि १३ सेप्टेम्बरसम्म हुँदैछ ।

यस वर्ष जोकोभिचलाई करियरको १८औं ग्राण्डस्लाम जित्ने सुनौलो अवसर छ । किनकी साविक विजेता स्पेनीस स्टार राफेल नाडाल र अर्का दावेदार रोजर फेडररले प्रतियोगितामा सहभागिता नजनाउने निश्चित भइसकेको छ ।

जोकोभिचले ट्वीट गर्दै लेखेका छन, “यस वर्ष हुने सिनसिनाटी र युएस ओपन खेल्ने कुराको जानकारी गराउन पाउँदा मलाई निकै खुशी लागिरहेको छ । धेरै चुनौतिहरुका बीच मलाई यो निर्णय लिन निकै कठिन थियो । तर म उत्साहित छु ।”

जोकोभिचले करियरमा १७ ग्राण्डस्लाम जितिसकेका छन्

यी सर्बियन स्टारले बर्ष २०२० को शुरुवात मै किर्तिमानी आठौंपटक अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए । कुल १७ ग्राण्डस्लाम जितेका जोकोभिच सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् ।

जोकोभिचले करियरमा आठ अष्ट्रेलियन ओपन, पाँच विम्बल्डन, एक फ्रेन्च ओपन र तीन युएस ओपन उपाधि जितिसकेका छन् ।

सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको सूचीमा रोजर फेडरर २० उपाधिका साथ शिर्ष स्थानमा छन् । त्यस्तै कुल १९ ग्राण्डस्लाम जितेका राफेल नाडाल दोस्रो स्थानमा छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...